मुख्य पृष्ठ » कविता » आवश्यकताको सिद्धान्त

आवश्यकताको सिद्धान्त

string(43) "user_uploads/members/658321595639_large.jpg"
लेखक
अमित रिजाल
नाम : अमित रिजाल
  अमित रिजालका रचनाहरू

पश्चिमतिरबाट आएको
कुनै अर्डरमा
चीनको कुनै अर्धसहरी
अर्धव्यवस्थित कारखानामा
अर्धरोजगार वा
उमेरमुनिका केटाकेटीले
स्कुल फी जुटाउन
जाडो बिदामा आधा तलबमा बनाइएको
हिजैमात्र बजारमा आएको
म संसारको महँगो मोबाइल फोन हुँ
केही मानिसहरूले मलाई आजै
उनीहरूको केही दिनको तलब खर्चेर किनेका छन् ।

बङ्गलादेशको कुनै गाउँकी
गर्भवती महिलाले
कम तौलमा जन्मेकी
बेनाम पतिको
तर आफ्नै छोरीको औषधीका लागि
ओभरटाइम गरेर सिलाएको
म ब्रान्डेड टिसर्ट हुँ,
केही बेरअघिदेखि
मलाई कुनै समुद्री किनारमा
घाम तापिरहेकी युवतीले
फुकालेर बालुवामा फ्याँकेकी छे ।

औद्योगिक देशहरूले
विकासका लागि दिइएको मौकास्वरुप
भियतनाम वा कम्बोडियाको
‘स्वेटसप’हरूमा
कालो–नीलो हुँदै
महिनौं घाम नदेखिने
उखुम टिनको छानोमुन्तिर काम गरिरहेकाहरूले बुनेको
संसारभर रुचाइने
म बलियो जुत्ता हुँ
घुमन्तेहरूको खुट्टामा
ट्रेकिङ वा भ्रमणमा विश्वभर यात्रा गरिरहन्छु ।

हो म
न्युयोर्क, लन्डन, टोकियोहरूबाट
कन्टेनरमा समुन्द्र पार गरेर आएको हुँ
तर थाहा छ
मलाई कति बेला प्रचण्ड रिस उठ्छ ?
त्यति बेला
जब उनीहरू सोरुममा मलाई
सिसा बाहिरैबाट घोरिएर
आश्चर्यले हेर्छन्,
अनौठोले हेर्छन्,
पूरा नहुने कामनाले हेर्छन्,
मलाई यस्तरी चिच्याउन मन हुन्छ कि
ओ ! कम्बोडियाली टोटो,
ओ ! हाइटीकी शेर्ली,
ओ ! भारतको अब्दुल,
म तिमीहरूमध्ये कसैद्वारा बनाइएको एक हुँ
तर मलाई बनाउनुअघिको तिमीहरूको आवश्यकता

मलाई बनाइसकेपछिको तिमीहरूको आवश्यकतामा
दुई किनारको फरक छ,
म तिमीहरूको बीचमा बगिररहने नदी हुँ ।

 

लेखकको पहिलो कविता कृति, ‘भित्तामा टाँगिएको पहाड’ गएको हप्ता सार्वजनिक भएको छ ।

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस