बनाएर
विश्वासको भर्यांङ्ग
गाँसेर
अविश्वासका भाटाहरु
बाँधेर
धन दौलतका चोयाहरुले
जलाएर
आफ्नै कुण्ठाहरुको धुपबत्ति
ओढाउँदै
छिद्र छिद्र परेको झुलदानी जस्तो मन
ज्यूँदो मुर्दा बनेका
करोडौं इच्छा चाहनाहरुको शुक्रकीट
प्रत्येक रात
ओछ्यानमा ढल्नु अगाडि र,
कहिल्यै नआउने
भोलिको प्रातः हुनुपूर्व
म यसरी नै मलामी गइरहेको हुन्छु
आफ्नै असंँख्य सपनाहरुको ।
जब पराधीनताको ऐनामा
टल्किन्छ स्वरुप स्वाधीनताको
ठ्याक्कै सुल्टोको उल्टो देखाए झैँ ऐनाले
लाग्छ,
यसरी नै बाँचिरहनु पर्नेछ मैले
पुस्तौं पुस्र्तौ सम्मपनि ।
एकाबिहानै
भालेको डाँकोसँगै
आधा मुखले पुरा हाइ काढ्दै
चिप्रा मिच्दै आँखाका
हातमा गैंची र बेल्चा बोकेर
जीविकोपार्जनकै खातिर
मस्त चीर निद्रामा सुतेकि
धर्ती आमालाई घच्घच्याउँदै
उनकै छातिमा परेड खेल्दै
सिङ्गोरी खेलिरहन्छु म
सपनै सपनाहरुको मैदानमा ।
दिनभर–
रगतको पसिना र,
पसिनाको पिण्ड बनाउँदै
साँझमा गुँड फर्किँदा
सक्तिन कमलो मुटुको थैलीमा
एक दुइ मिठाई बिस्कुट
किनेर हाल्न
र त– छोराछोरी
बाबा–बाबाको गुहार लगाउँदा पनि
गर्नुपर्छ झिजो लागएको नाटक
अनि धकेल्नु पर्छ आफ्नै हातले
आफ्नै मुटुका टुक्रा टुक्रिहरुलाई ।
सबैको अर्थ छ संसारमा
कारक छन् एक अर्काका
–सुख–दुःख
–घाम–छाया
–धनी–गरीब
–अग्लो–होचो
परन्तु सपनाहरुको ?
खोला,
नदीको बहुपासमा नदी ठहरिन्छ
नदी,
समुन्द्रको थोपा थोपामा
खारो समुन्द्र बनेर समिश्रण हुन्छ
तर सपनाहरु ?
अँ–हँ,
यी सपनाहरु पनि त
मलामी नै हुन् एक प्रकारका
जान्छन् मनको कुनाबाट फुत्त निस्केर
अनि फर्कन्छन् पनि उसैगरि
पालैपालो
एकपछि अर्को
अर्कोपछि पुनः अर्काको
गइरहन्छन् सपनाहरु
मान्छेको शरीरलाई घाट बनाएर
मलामी
कहिल्यै सकिँदैन शिलशिला
जसरी,
सपना देख्न छोड्दैनौँ हामी
दिन–रात
निदाउँदा–ब्युँझदा !
हालः दोहा