मेन्लीको
सामुन्द्रिक यात्रामा थिएँ भर्खरै
खचाखच भरिएको थियो पानीजहाज
पानीको छालसँगै
पूर्वैया हो या अरु कुनै
बेतोडसँग उर्लिरहेको थियो
म पानीमाथी बगिरहेको थिएँ
म मानौँ उडिरहेको थिएँ !
झल्यास्स सम्झिन्छु आफ्नै गाउँलाई
साठीसालमा बमले उडाइएको
झोलुङ्गे पुलका अवशेषहरू
अझै ठूली भेरी पार गर्न
तुइनमा झुण्डिइरहेकी मेरी आमाको छातीमा
लाम्टो चुसीरहेका सन्तानझैँ टाँसीएका छन् ।
एउटा रमाइलो साँझ
हार्बर ब्रिज—ओपेरा हाउस
छेवैको ब्यस्त बजारमा छु
खचाखच भरिएको सडक
बस छन् कार छन्
होटेल छन् बार छन्
सडकनै तरङ्गित बनाउँदै
मेनु भित्रका परिकार छन् !
साझाको गोदाम अगिल्तिर
सब्सिडिको उसिना चामल र ढिके नुन
बेसाउनेहरूको अनियन्त्रित भीडमाथि
एकाएक पुलिसले लाठीचार्ज गर्यो
काटिएको कन्चट फुटेको निधार
र कट्कटिएको रगत लिएर
एउटा साँझमा सुईय सुस्केरा हाल्दै
रित्तै हात फर्केका मेरा बा ले
फेरि मस्तिष्कलाई ढक्ढक्याए !
स्टेशनको छेवैमा
एउटा मान्छे गीटार बजाइरहेछ
म किन स्विकार्न सकिरहेको छैन ?
यो शहरमा पनि सिक्का थाप्न बसिरहेका मगन्ते छन् !
ढुङ्गा उस्तै होला, माटो उस्तै होला
शायद यो धर्तीको संरचना पनि उस्तै होला
किन फरक छन् यी मोटर वे र बाग्लुङ हाइवेहरू ?
बर्षैपिच्छै सडक बन्छ
पिच गर्ने उपक्रम चल्छ
दारे चोकमा, दासढुङ्गामा
थानकोटमा— नौबिसेमा
महेन्द्रपुलमा, कोहलपूरमा
छ महिना नबित्दै
छिया छिया हुन्छ सडक ?
थाहा छैन
गिट्टीमा दोष छ कि
बालुवाको खानीमा ?
आगोमा दोष छ कि
दर्किने पानीमा ?
सडकमा घोत्लिँदै
यो रिटायर्ड इन्जिनियर
बेकारमा किन
बुढो मस्तिष्कमा
प्रश्नहरूको नक्शा कोरीरहेछ !
मालेपाटन, पोखरा (हाल सिड्नी)