परार साल
म प्रेमी थिएँ तिमी प्रेमिका थियौ
हामी छुट्टिनै नसक्ने थियौँ
ओठमा ओठ जोडिएपछि
ओठ छुट्टिन नजाने झैँ
छातिमा छाति टाँसिएपछि
छाती छुट्टिन नमाने झैँ
प्रेम गुलाव जस्तै कोमल थियो
तेसैले त हामी काँडालाई पनी प्रेम गर्थ्यौँ
पोहोर साल पनि शायद
म प्रेमी नै थिएँ तिमी प्रेमिका नै थियौँ
हामी शायद छुट्टिनै नसक्ने थियौँ
खै किन हामी नशाले ग्रस्त भयौँ
हामी प्रेमभन्दा अलि फरक
खै के के मा ब्यस्त भयौँ
प्रेमको घरबाट
हामी थोरै बाहिरियौँ
हामीले प्रेम टाढिन्छ कि भनेर
पर्खाल बनायौँ
तिमी आगन भयौँ
म तगारो भएँ
प्रेम थियो थिएन ?
हामी त थियौँ
तेस ताका हामीलाई मात्र गुलाब मनपर्थ्यो
तेसताका हामीले काँडालाई प्रेम गरेनौँ !
यो साल
प्रेमदिवसको दिन
शायद, हाम्रो प्रेमको घर थिएन
हाम्रो प्रेमको आगन थिएन !
हामी टाढा थियौँ
म मौन थिएँ
सोचेँ, शायद तिमी पनि मौन छौ !
हाम्रो मायाको टेलिप्याथी
शायद यही मौनता थियो !
“हेप्पी भ्यालेन्टाईनस डे”!
तिमीले टेक्स्ट पठायो
“म पनि तेही पठाउँदै थिएँ”!
मैले पनि टेक्स्ट पठाएँ
टेलिप्याथी मौनता बाट टेक्स्ट भयो
अनि फेरि मौनता !
मलाई तिम्ले पठाएको तिन शब्दको शुभकामना
हाम्रो एकादेशको प्रेम जस्तै प्रिय लाग्यो
टेक्सटलाई नै ओठमा जोडेँ
छातीमा टाँसे
प्रिन्ट गरेँ
पट्याएर राखेँ
सतोसत्
मैले आज तिम्रो अनुपस्थितिमा
तिमीलाई भन्दा पनि
तिमीले पठाएको टेक्स्ट मन पराएँ !
थाहा छैन, हाम्रो प्रेमको ग्राफमा
आउँदो साल
प्रेम गर्नका लागि
ओठमा जोड्नका लागि
छातीमा टाँस्नका लागि
केही आउला कि नआउला ?
केही बाँकि रहला कि नरहला ?
सन्दर्भ: भ्यालेन्टाईनस् डे (२०१४)