पानीमा माछाबाट
बाहिर हेर्छु मलाई
जीवन छामाछा देख्छु ।
पानी बिना बाँच्नै सक्तिन
पानीमै मेरो समाप्ती छ –
ठूला माछा,
सर्प र अरूहरू ।
कहिल्यै नझुक्नेगरी
अटल पहाडबाट
प....र हेर्छु मलाई
जीवन लाखोला देख्छु
म नबगी सक्तैसक्तिन
म बग्दा बग्दै सकिएर जान्छु ।
कति पाङ्ग्राहरूले पेलेर
लमतन्न पारिएको सडक
कति पाइतालाहरूले कुल्चेर
चेप्टो देखिने सडक
असंख्य यात्रीहरूलाई हिडाइरहेको छ
जिन्दगीका गाडीहरू गुडाइरहेको छ
गुड्नु
हिड्नु
कुदिरहनु
मात्रै हो त जीवनको पहिचान ?
बन्दुकको नालमा
अझै पनि हिटलर गन्हाउँछ
माक्र्स नारा बनिरहेछ अहिले पनि
वर्डस्वर्थ फूल र पातहरूमा
अहिले पनि अल्झि बसेको छ
शेक्सपियर अहिले पनि
मनको आवाज भएको छ
कति शीतलता,
कति छहारी छ होला
एउटा जीवित रुखमा ?
कति सुन्दर फर्निचर छ होला
एउटा ढलेको रुखमा ?
चिहानभित्रको हड्डीबाट
यता बाहिर फर्कीहेर्छु मलाई
जीवन हाँकहाँ देख्छु ।
समय पोखरीमा खसेर
ऐना भएको छ
डिलैडिल जीवन हिडिबस्दा
भित्रबाट
कैदीले झम्टिन खोज्छ
बाहिरबाट
हारेको मान्छे
हाम्फाली मर्न खोज्छ ।
वनभित्रभित्रै
जीवन कोइलीले बोल्छ
जीवन हाँकहाँ देख्छु ।
जीवन किन दीनदी बनेर
रुँदै बग्न मात्र खोज्छ ?
ललितपुर–१४, नखिपोट