मुख्य पृष्ठ » कविता » हज्जार प्रश्नको साझा कविता: “अङ्गेरीको पातमा बेरिएको – जीवन”

हज्जार प्रश्नको साझा कविता: “अङ्गेरीको पातमा बेरिएको – जीवन”

bool(false)

– र चाउरी परेको निधारबाट
पुछेर टल्किएका पसिना
..... पोल्टोबाट निकालेर
अङ्गेरीको पातमा बेरिएको सुर्ती
सल्काउदै सोचिरहिन् मनमाया ।

खुत्रुक्क – खुत्रुक्क
ओर्लिएर यो सिढी ,
बोलेर आफ्नै भाषा
यो खोला कहाँ पुग्छ होला ?

यो फलामे वृतभित्र
संगालेर ढुङ्गाजस्ता ईच्छाहरु
कति पिट्नु घनले – आफ्नै मनलाई ?
र कहिलेसम्म बनाउनु गिट्टी ?
आकाशजस्तै रहर !

हैन , किन यत्ति धेरै
बिरानो बनेको होला
त्यो आदिम घाम र यो पसिना ?

जूनको अनुहार छलेर
एकरात मेरै गुन्द्रीमा
मेरै सपना बिछ्याएकाहरु
पसेका छन् रे – राजाको गाउँमा !
के गर्दै होलान् बाई ?
कहाँ सुस्ताउदा होलान् हगि ?
ओछ्याउदा हुन् कस्का सपना ?

साँच्चै घरको चुलोमा
खरानीमुनि जोगाएको आगो
टिप्ला कि नटिप्ला – त्यो चिसो दाउराले ?

यो भकारी जत्रै टिनको भाँडो
कसले बनायो कुन्नि ?
खै , कहिले भर्नु र मैले
आफ्नै औला कुटेर – दुई छाक गिट्टी ?

एक सर्को
बिडी न रैछ जीवन !
कसले सल्काईदियो ?
खैर जे होस् – सल्किरहेछु ।

हैन ए बुढा
बोलाउछौ कहिले मलाई
तिमी गएकै बाटो
त्यो कहिल्यै नभेटिने – बस्तीमा ?

– र चाउरी परेको निधारबाट
पुछेर टल्किएका पसिना
...... पोल्टोबाट निकालेको
अङ्गेरीको पातमा बेरिएको सुर्ती
निभाउदै सोचिरहिन् मनमाया ।

झुले – ४, दोलखा

पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस