अब मेरो हड्डिभित्र
कुनै बल बाँकि छैन ।
मेरो जीवनका आविष्कारहरु
जिन्दगीको कुनै सडक छेउमा उभिएर
म तिमीलाई नै पर्खिरहेछु अहिले
आऊ
आसाको अन्तिम उज्यालो छ मसँग
ननिभ्दै लिएर जाऊ ।
थुप्रै पृथ्वीलाइ
हुर्काएँ पाठेघरको न्यानो ओछयानमा
र थुप्रै चन्द्रमालाई
आकाशको घुम्तिमा मोडिन सिकाएँ
कसैलाइ छायाँ र कसैलाइ आकृति दिएँ
हावा दिएँ, पानी दिएँ
यो दुनियाँलाई सुन्दर बनाउँन
बैंस दिएँ, जवानी दिएँ ।
मेरा प्यारा सन्तानहरु
मसँग अब पुग्नका लागि
दिवंगत लोग्नेको ठेगाना पनि छैन
र बस्नका लागि
समयको ओतलाग्ने घर पनि छैन
म,उड्दा उड्दै चुडिएको चङ्गाजस्तो
म, बग्दा बग्दै रोकिएको गङ्गाजस्तो
मसँग बाँच्नका लागि
आँखामा सजाएको कुनै सहर पनि छैन ।
हजार चन्द्रमाहरु बगेर
उमेरका खोलाहरु सकिए
आँखाको सपना र नसाको ताकत सकियो
अब मसँग सिर्फ एक चिज बाँकि छ
आऊ
मायाका यी अन्तिम चुम्बनहरु
लिएर जाऊ ।
अब मेरो हड्डिभित्र
कुनै बल बाँकि छैन ।