गन्तव्य एउटै भएपछि
बाटो छुट्टा छुट्टै भएपनि
दोबाटोहरुमा भेट हुँदोरहेछ
पर्खाल लगाएर मनको साँध सीमामा
जति नै दूरी बढाउन चाहे पनि
घामजूनलाई एकलौटी बनाउन सकिँदो रहेनछ
संगै हिंडेका बाटाहरु
बिरानो बिरानो लागेपछि
संगै किनेका सम्झनाहरु
पुरानो पुरानो लागेपछि
थाहा छैन मलाई मात्रै पो हो कि ?
तिमीलाई पनि यस्तो लाग्छ –
हामीले हामीलाई कतै साटी सकेका रहेछौ !
विस्मृति को ठिही ले मन चिसो हुँदापनि
स्मृतिको तुवालोले मन धुमिल हुँदापनि
कतै गहिरो भुमरी परेजस्तो
कतै टिलपिल टिलपिल तारा झरेजस्तो
सुखद पीडानुभूति
मलाई मात्रै हुन्छ कि ?
जति नै मुखले पराई भने पनि
जति नै छड्के हेराई हेरे पनि
चिनेको चौतारीको पिपल र बरलाई
सपनाको रङले लिपेको घरलाई
मैले मात्रै पो हो कि ?
त्याग्ने सकिनँ !
परिवेश एउटै भएपछि
भावावेश छुटै भएपनि
हामीले फेर्ने श्वास एउटै हुदोंरहेछ
भत्काएर अविश्वासका छपनीहरुलाई
पल्टाएर धुल्लिएका सपनिहरुलाई
पाइलाहरु जब दोबाटोमा पुग्छन
यस्तो लाग्छ –तिमी मलाई असाध्य माया गर्छौ
न ढाटी भन त –
तिम्रो “ म “ भित्र मेरो “म “ प्रति माया छ कि छैन ?
ईमेलः gpooja1970@gmail.com