गजल

 

दुःख रोपी सुखी सपना कति बुन्छ्यौ आमा ?
मेरा लागि जिन्दगीमा कति रून्छ्यौ आमा ?

भोकायो कि छोरो भन्दै आँफु भोकै बसी,
चाउरिएर कतिञ्जेल मुख थुन्छ्यौ आमा ?

कहिले घाम कहिले पानी छैन यौटा ओत,
आफ्नो मैलो छोपी मलाई कति धुन्छ्यौ आमा ?

 

एक्लो मलाई खुसी पार्दा सारा बैरी बने,
अझै कति दुनियाको गाली सुन्छ्यौ आमा ?

जीवनभर घोट्यौ हाड झिनो खुसी पाउन,
प्यास लुकाई अझै कति आगो छुन्छ्यौ आमा ?

***

पाठकको प्रतिक्रिया
अन्य गजलहरू