‘लक्ष्मी सुकुटी छ ?’
‘सुकुटी नभन्नु न सर, डाइमिट भन्नु न । आज सकियो , आमाले गर्मीमा गन्हाउँछ भनेर कम्ति पोल्नु भएको थियो । सकियो त । ...’
लक्ष्मी यसरी नै बोल्थिन् , जानेका अलिकति कुरा नजानेका अलिकति कुरा थप्दै । तिनले बुझेको संसार यही हो, नयाँनयाँ कुरा गर्नुपर्छ ।
लक्ष्मीसित प्रायः यसरी नै मेरो बातचीत हुन्छ, उनको रेष्टुँरामा खान जाँदा ।
लक्ष्मी हाम्री चिरपरिचित पात्र । उनको परिवारमा कुल मिलाएर पाँचजना सदस्य छन्, उनका बाबु गँडेश । उनका एक बहिनी जसको विहे भइसकेको छ तर वेलावेलामा माइती आगमन भइरहन्छ , एउटा दूधे बालकसहित । अनि उनको एउटा भाइ जो अक्सर हामी जाँदा खाना खाइरहेको हुन्छ । श्यामवर्णका छन् लक्ष्मीसित कतै पनि नाकनक्शा मिल्दैन ।
अनि अघि माथि वर्णन गरिएकी उनकी आमा । जो वास्तवमा लक्ष्मीकी आमा नभएर सौतेनी आमा रहिछिन् ।
“लक्ष्मीकी आमा त गाउँमै छिन् । ..” चिनेकै दिन उनकी सौतेनी आमाले भनेको पहिलो सम्बाद् यही थियो । लक्ष्मीकी सौतेनी आमा जसलाई प्रायःले साहुनी भन्छन् तर नामले कसैले बोलाएको म सुन्दिनँ । एकदिन गरीब विकास कोशको सहायतार्थ रकम सापट लिन आउँदा मैले सोधेको थिएँ, अनि नागरिकता ल्याउनु भएको छ , ?
त्यतिवेला त्यही देखेको थिएँ, तिनको नाउँ ः बैकनीदेवी श्रेष्ठ ।
बैकनीदेवीले आफूलाई त्यो नामबाट चिनाउन निकै गाह्रो मानेकी होली , धेरैले त्यस नामका वारेमा प्रश्नप्रतिप्रश्न गर्दा हुन् , वैकनी हो कि वैगुणी ? जस्तो मैले प्रश्न गर्दा पनि उनी झर्केकी थिइन् , “हा छोड्नु न सर , जल्ले नि त्यही भन्छ क्या सर । कोही कोही त बैगन पनि भन्छन्, वैगन क्या भान्टा । नाममा के राखिएको छ र होइन सर ? काम पो राम्रो हुुनुपर्यो । ”
बैकनीदेवीले शेक्सपिअर पढेकी छन् कि छैनन् मलाई थाहा छैन तर उनी शब्दशः शेक्सपिअर कै भाषामा बोलिन् , नाममा के छ र ? व्हाट इज इन् दी नेम , व्हाट् वि कल द रोज, बाइ एनी अदर नेम वुड स्मेल एज स्वीट । स्कुलमा भक्तसरले अँग्रेजी कक्षामा कन्ठस्थ पार्न लगाएको यो पंक्ति । सम्झेँ एकपटक ।
वैकनीको नाम बैकनी नभएर अरु नै केही हुनसक्छ तर बोलाउनहरुले अशुद्ध बोलाइदिएपछि यो नाम खोलाजस्तै बाँगिदै गयो होला । जेहोस्, उनले भनेजस्तै नाम होइन काम राम्रो हुनुपर्छ । उनको राम्रो काम भनेको दुइटा हो, पसलमा लक्ष्मीलाई छोडेपछि उनी बेपत्ता हुन्छिन्, विहाबटुल , चोकचौतारीको मिटिँगमा । यसबाट सामान्यतया के बुझ्नसकिन्छ भने ... बैकनी लक्ष्मीलाई असाध्य माया गर्छिन् , आफ्नो पसललाई जति नै । तर उनी पसललाई दोकान नै भन्थिन् ।
‘हाम्रो उता दोकान भन्छन् , क्या सर । ’ उनी आफू आएको ठाउँको जानकारी यसरी दिन्छिन् ।
ब्याँक्मा ऋण सहायता माग्न आउँदा उनले यो दोकानको कथा अलि अलि सुनाएकी थिइन् । लक्ष्मीका बुबा गँडेश जो हेर्दा कतैबाट पनि गणेश भगवानजस्तो देखिनन, देखिन्छ त उन्मत्त भैरवजस्तो । पेशाले उनी बाइरोडका ड्राइभर रहेछन् । पञ्चायतकालमा पूर्वपश्चिम राजमार्ग बने लगत्तै रात्रिबस हाँक्न थालेका रहेछन् । त्यो रात्रिबस हँकाईको चौबीसघन्टा वीचमा पर्ने कुनै तराईको गाउँमा जहाँ उनी वास बस्थे त्यहीँबाट बैकनीलाई गँडेशले टिपेका रहेछन् । सारसंक्षेपमा उनले सुनाएको कथा यत्ति हो तर कथामा लक्ष्मीकी आमा जेठी कान्छी माहिली कुन हुन् चर्चा छैन , उनी अहिले कुन गाउँमा छिन् भन्ने सार पनि छैन । लक्ष्मीकी आमाको कुरा उठायो कि उनी भन्थिन् , “अब डराइभर हुन् , बुढी त कति हो कति ?”
थाह के हुन्छ भने बैकनी लक्ष्मीलाई बेहद माया गर्छिन्, आफ्नी छोरीलाई भन्दा बढी । लक्ष्मीमा त्यो माया छोरी को हदसम्म त देखिन्न तर भनक चैँ आउँछ ।
गँडेशले उन्मत्त भैरव हुन थालेको हालसालै मात्र होइन रहेछ, रात्रिवस चलाउन छोडे देखि रहेछ, साँझ पर्यो कि ट्वाक् थपेको थपे गर्ने अनि भैरवीय ठाटमा सुतिदिने ।
उनको पहिले नपिउने र अहिले पिउने बानीले गर्दा पसलमा दुवै थरिका ग्राहकको संख्या अलि बढेको रहेछ । कोही कोही त राति ताश पनि खेल्न आउँदा रहेछन् । सानोतिनो क्यासिनो चल्दो रहेछ राति ।
गँडेशले ताश खेलेको देख्यो कि लक्ष्मी कि त रिसाउने कि त छिट्टै सुत्न जाने गर्दिरहिछिन् । लक्ष्मी सुत्न गएपछि गँडेशलाई पिउने मार्ग प्रशस्ति हुँदोरहेछ, जसलाई गँडेश आफ्नै भाषामा चान्स मारो न भन्दा रहेछन् ।
ढिलो सुत्न नसक्ने लक्ष्मी पसलमा दिनभरि एक्लै नै खटिरहेकी देखिन्छे । या त माइती आएकी बहिनीलाई मिठो मिठो पकाएर खुवाउनैमा व्यस्त देखिन्छे, या त बहिनीकी छोरीलाई बोकेर नजीकनजीकै घुमेको सम्म देखिन्छ । उनी पसलबाट टाढा वा फेरिएको नयाँ लुगामा कतै गएको मैले कहिले देखिनँ ।
दिनभरि लक्ष्मी नै त्यो पसलमा देखिने हुँदा हाम्रा अफिसका साथी शेरचनजीले यो पसलको नाउँ राख्नु पर्यो भनेर बैकनीलाई सल्लाह दिँदा उनले नै जसले नि लक्ष्मीको पसल भन्दा चिनी हाल्छ नि , सर । भनेर टारेका रहेछन् ।
शेरचनजी अद्भूत कलाकार थिए । तलब थापेको भोलिपल्ट एकदिन बजार गएर आफ्नै पैसाले त्यो पसलको साइनबोर्ड लेखाएर ल्याएः
लक्ष्मी इन्टरन्याशनल ।
शेरचनजी निक्षेप शाखामा काम गर्ने भएकाले जिल्ला जिल्लाको भ्रमण पानी पँधेरा नै हो तर यो मुकाममा सरुवा भएर आएपछि उनी यहाँबाट डेग हटेका छैनन् । उनैले यो पसलको खोजी गरेर हामीलाई यहाँ खान जान सल्लाह दिएका थिए , अब नाम पनि उनैले जुराइदिए आफ्नै लगानीमा । उनी यसलाई इन्टरनैशनल किन भन्न चाहँदारहेछन् उनकै भनाइमा “ यहाँ दाल भात रक्सी देखि सबै पाइने । अनि क्यासिनो पनि खेल्ने । भएन त नाम गज्जब ? सबै छ त्यसैले ”
शेरचजीलाई हामी कहिलेकाहीँ प्रेमपूर्वक जिस्काएर देवदास पनि भन्छौ, दिलिपकुमारको देवदास बीसपटक हेर्ने शेरचनजीको थर सहितको नाम चैँ देवराज शेरचन नै हो । पुल्चोक इन्जिनियरिँग क्याम्पस पढेर पछि ब्याँकिँग सेवामा पसेको शेरचनजीका वारे दुई कुरा अद्भूत छन् , मुस्ताङ थाकखोलाबाट आएका शेरचनजी अमेरिकाको कुन शहरमा कुन नेपाली कहाँ बस्छ सब भन्न सक्छन् तर आफ्नै थकाली जातिका मान्छेका वारेमा उहाँनलाई पटक्कै ज्ञान छैन । थकाली जातिकै कवि भूपीको उनले नाउँ सम्म सुनेको तर उनको कुनै कविता नपढेको बताउँछन् । जातले थकाली भए पनि उनी खानाका त्यति पारखी उनी होइनन् तर रक्सीका वारेमा उनको ज्ञान अपार छ । रक्सी धेरै खाने र अतीतमुखी भएर गफीरहने बानीले गर्दा नै साथीसर्कलमा उनको नाउँ देवराजको बदला देवदास हुन पुगेको हो । यहाँ आएदेखि उनी आजकाल देवदास कम देवसाहब बढी देखिन थालेका छन्, बृद्धवैंशका देवआनन्द जस्तै ।
उनको नाउँ आफैले राखेको भन्ने पनि व्यापक हल्ला छ तर यसवारे शेरचनजी केही बोल्नु हुन्न ।
“सम्भावना यो पनि छ कि उनी सबैको नाउँ राख्न खप्पिस मान्छे आफँैले आफ्नो नाउँ सुझाए होला ...।” विलिँग शाखामा कार्यरत शेरचनजीका पुराना मित्र मधुकरजीको अनुमान हो यो ।
शेरचनजी जसको पनि नामाकरण गर्नमा माहिर हुनुहुन्छ जस्तो लक्ष्मीलाई उहाले शुरुमा ‘लक् मी’ भनिदिनु भो जसको अर्थ मलाई भाग्य भन्ने बुझिन जान्छ । त्यो सुनेर त लक्ष्मीका मातापिता त दुई अलग अलग पूर्ण विराम भए , पछि उनैले सच्याए , “.... शेरचनसर मनको नराम्रो हुनुहुन्न । ”
हुन त शेरचनजीले भनेजस्तै लक्ष्मी उनका आमाबाबुको भाग्य नै हुन् उनको ठूलो ललाट, खुम्चिएको आँखिभौ अनि हाइभोल्टेजका दुई नयन र सदैव व्यस्त ती दुई हातसँगै अभ्यस्त उनको हाँसो, र त्यो हाँसोको परिसरमा चल्ने लक्ष्मी इन्टरनैशनल । अनि त्यहाँ मान्छेको ताँती , यो सब लक्ष्मीको करामत हो ।
भर्खरै बनेको नयाँ बसपार्क छेवको त्यो पसलको वरपर प्रतिस्पर्धा गर्न सक्ने अरु कुनै पसल छैनन् । कसैकसैले नयाँ पसल खोले पनि अर्कै धन्दाका खोल्छन् , साइबर, ग्याँस पसल, तरकारी पसल र लुगा सिउने पसल खोलेर लक्ष्मी इन्टरनैशनलसित पराजय स्वीकारेका छन् जो स्वभावतः लक्ष्मीको व्यक्तित्वसितको टकराव हो ।
लक्ष्मी पसलमा उभिएपछि डाइभरदेखि डाक्टरसम्म, खलाँसी देखि बैँकरसम्म लाम लागेर खाजा खान्थे । त्यहाँ कुनै भेदभाव छैन । तर कहिलेकाहिँ शेरचनजी आएपछि लक्ष्मी अलि बढी उनलाई खातिरदारी गर्छिन् , त्यसैले हामी पनि शेरचनजीसितै मात्रै लाम लागेर पस्ने गर्छौ ।
आखिर यो पसलको आविष्कार नै उनले नै गरेका हुन् हाम्रो यो दुर्गम जीवनमा । फेरि उनकै बाहुबलिमा पसलको शुभ न्वारन पनि सम्पन्न हुनु , । त्यसैले शेरचनजी इज ग्रेट , हामी भन्ने गर्छौँ ।
हाम्रो बैँकको शाखा कार्यालय काठमाण्डू बाहिर धनगढी, पोखरा बुटवल, झापा पछि यो मुकाममा पनि थपिने भएपछि नयाँ भवन हेर्न आएको टोलीमा शेरचनजी पनि थिए । त्यहीबेला आउँदा उनले यहाँ लक्ष्मीको पपुलर डाइमिट र जीजीबी झ्याप्प पारेका रहेछन् । शेरचनजीले डे वन् मै मेरा सबै साथी यहाँको गाहक बनाउँछु भनेर टेबिल उचालेका रहेछन् ।
शेरचनजीको त्यो भविष्यवाणी सत्य सावित भयो , अर्को एउटा भविष्यवाणी छोडेर । अर्को ठोकुवा चैँ उनले लक्ष्मीका पिता गँडेशसित गोप्य सम्झौता गरेका रहेछन् , एफएमको । एफएमको अर्थ हो फाँटमाराहरू, जग्गाको कारोवबार गर्नेलाई मधेशतिर त्यतिवेला नयाँ भावमा एफएम भन्दा रहेछन् ।
त्यो धन्दा गँडेशको नयाँ पेशा रहेछ ।
यहाँ बैँकको लगानी बढ्ने सम्भावना देखेपछि गँडेशले चारपाँग्रालाई रोकेर फाँट तिर नजर लगाएका रहेछन् , शेरचनजीले पनि रियर स्टेटको बिजजेशनमा सम्भावना छ भनेर दम दिएका रहेछन् । उनले थप दम यो पनि हालेछन् , म मेरा साथीहरुलाई पनि ल्याउँछु ।
तर कुरा त्यसरी अगि बढ्न सकेन ।
बैँक आउनु र तराईमा जग्गाको कारोबार विग्रिनुमा मधेश द्वन्द्वको पनि मूल भूमिका हुन गयो । गँडेश त्यसपछि च्यासिस विग्रेको गाडीजस्तै सुस्ताए ।
त्यतिवेला शेरचनजी, मधुकरजी र गँडेशको टप सिक्रेट रोजै चल्थ्यो यहाँ । चलिरहन्थ्यो । हाम्रा साथी मध्ये धेरैले ‘कहाँ यहाँ जग्गा किन्ने ? बस्नै सकिँदैन’ भनेपछि शेरचनजी हामीबाट निराश भए भने गँडेशले अर्कै बाटो अपनाएर शेरचनजीसित दुरी बढाए ।
सिलसिला शुरु मात्र भएथ्यो टुँगियो , यसलाई भनिन्छ भदौको खेती असारमा ।
शेरचनजीले त्यो परिवारको निम्ति सबै काममा आफ्नो हात बढाए , उनले नै नै पसलको नाम राखिदिनु भो । उनकै सिफारिशमा ऋण मिलाइदिएर नयाँ फ्रिज थपिए । उनकै परम सौजन्यमा लक्ष्मीका भाइ गोकुल भलिबल खेल्न छोडेर कम्प्युटर क्लासमा एक्स्ट्रा भर्ना भए । तर एउटा काम शेरचनजीले चाहेर पनि गर्न सकेनन् र गर्न पनि चाहेनन् । त्यो हो लक्ष्मीको विहे ।
उमेरले चौबीस चानचुन पुगिसकेकी लक्ष्मी एक्लो ज्यानले त्यो पसल अठार घन्टा धान्थिन् । रक्सी खाएर हल्ला गर्नेलाई घोक्रेठ्याक लाउथी । मोबाइलमा धेरै गफ गरेर हल्ला मचाउनेलाई बाहिर गएर चिच्याउनुस् भन्थी । उधारो खाएर पैसा नतिर्नेलाई शौचालयमा लगेर पूजा गर्थिन् । बेलुका जुवा खेल्ने पार्टी दिउँसो आए भने नो इन्ट्री देखाइदिन्थिन् तर जानेर पनि उनी बाबुको त्यो कुटीर उद्योगमा बाधा चैँ पुर्याउँदैनथिई । यी सब काम प्रेमले गर्ने लक्ष्मीको विहे चैँ प्रेमले कसैसित नहुनुमा के कारण होला शेरचन महोदयको ओटीका विषय थियो ।
विहेको मौसमको कुनै दिन शेरचनजीले उनकी आमा बैकनीलाई विहे गरीदिनु पर्यो भनेर सल्लाह दिँदा ती दुईमा छत्तीसको आँकडा बनेछ , त्यो छत्तीस छैँसाठी हुन धेरै छ सातदिन नै लाग्यो ।
त्यसपछि यो अध्याय केही समयलाई बन्द भो ।
शेरचनजीको भनाइमा लक्ष्मीको विहे हुन नसक्ने कारण आफैँ जन्मियो पछि । कसरी हुन्छ , विहे ?
लक्ष्मी विहे गएर गएपछि लक्ष्मी इन्टरनैशनल कसले चलाउँछ ? वा कसरी चल्छ त्यो पसल ? लक्ष्मीको नाम, शौहरत र सत्तामा चलेको त्यो पसलको सौर्य सेलाइहाल्छ नि , यस्ता धेरै कुरा शेरचनजीले सोचमठमा ल्याए र हराए ।
त्यसपछि लक्ष्मीको बिहेको कुरा अगि बढेन । बढ्नै सकेन । बढोस् पनि कसरी शेरचनजी नै सरुवा भएर काठमाण्डू जानु भो ।
हामी शेरचनजी नहुँदा पनि लक्ष्मी इन्टरनैशनल जान छोडेका छैनौँ , गएपिच्छे कुरा जहाँबाट शुरु भएपनि अन्त्यमा एकपटक शेरचनजीको चर्चा भइहाल्छ, विशेष लक्ष्मीका पिताले भनिहाल्छन्, “शेरचनसर त खास्साको मान्छे हो । दिलदार । अब कहिले आउनुहुन्छ ?”
“कहाँ आउनु अब सरुवा भएर गएको मान्छे ?” लक्ष्मी झर्केर जवाफ फर्काउथी ।
एकदिन चैँ लक्ष्मी आफैँले मलाई सुस्तरी सोधी, मसित ।
“..सर, शेरचनसर कहिले आउनु हुन्छ ?”
“मोबाइल नम्बर छ होइन । फोन गर न , अहिले त लोकल कल हो । ” दूरसञ्चारले भर्खरै नमस्ते सिम्कार्डमा यो सुविधा थपेको एक हप्ता पनि भएको थिएन ।
“होइन, सर । एकपटक भेटेर कुरा गर्न मन थियो । ”
कुरा के हो मलाई थाहा थिएन मैले मनज्ञान पनि दिइँन तर लक्ष्मीको कुरा भयो कि भएन थाहा छैन , म यसपालि काठमाण्डू जाँदा शेरचनजीलाई लक्ष्मीको जानकारी पुर्याइदिन्छु ।
काठमाण्डू जाने साइत नआउँदै म एकहप्ता डँडेल्धुरा जानुपर्ने भो कामविशेषले ।
एकहप्ता पछि आउँदा सबभन्दा पहिले सीधै लक्ष्मी इन्टरनैशनल पसेँ, जुन हामी सबैको नयाँ धन्दा हो । चनाचिउरा र भुटनसित एउटा चिसो पिएँ । शान्त मनले अशान्त भएर सोचिरहेँ, यसपालि मलाई खाजा लक्ष्मीकी आमाले दिइन् । केही वेरपछि मलाई चासो लाग्यो , आज लक्ष्मी कता गइन् होली ? शेरचनजी भएको भए सोधी हाल्थे तर ममा अग्रगामी कदम देखिएन , भएन पनि ।
म खाजा खाएर त्यस्तै अशान्त मनले अफिस आएँ । अफिसमा खाजाको समय साथीसर्कलमा चर्चा चल्दै थियो , लक्ष्मी त भागीछे ।
लक्ष्मी भागी , म त छक्कै परेँ । लक्ष्मी कहाँ भागी ? किन भागी ? किन कसैलाई नभनी भागी ? उनी त्यस्तो खाले त होइन । शेरचनजीलाई फोन गरेर यो खबर सुनाउन र सुन्न मलाई मन थियो तर मेरै मन दोमन भयो , ....शेरचनजीले अन्यथा सोच्नु भयो भने ।
केही दिनपछि बैँकको वार्षिक कार्यक्रममा लक्ष्मीकी आमा पनि सेवाकारी संस्थाको सदस्यको रुपमा सहभागी हुन आएकी थिई , त्यही वेला मैले बस्नोस् दिदी चिया खाएर जानुस् भने ।
उनले हतारिएर भनी , होइन सर । लक्ष्मी इन्टरनैशनलमा पनि कोही छैनन् । गइहाल्नुपर्छ ।
अनि लक्ष्मी खोइ त ?
लक्ष्मीको नाउँ कानमा गुञ्जेपछि प्रश्न पनि उब्जिहाल्यो , म कुनामा बसेर गोलकिपरले बल पर्खेजस्तै डराई डराई जवाफ पर्खिँदै थिए । कुसमयमा पो सोधियो कि भन्ने डर पनि लाग्यो ।
बैकनी नब्बे डिग्रीमा फर्केर मरित आई र लामो सास फेरेर भनी, “गई हाली नि सर । हामीलाई छोडेर । उसको परिवारसित । उसको बाबु र आमाले थाहा पाएर लिन आए ,अब अर्काकी छोरी कति राख्नु पठाइदिएँ नि सर । ”
लक्ष्मी ? अर्काकी छोरी । तपाइँको बुढाको छोरी होइन र ?
होइन, नि सर । कहाँ हुनु ।
बैकनीले रहस्यलाई झन् गहिरो बनाई । कसो अरे यता आउनुस् त, बस्नुस् त यहाँ ।
तिनी त्यस्तो हतारमा पनि पसिना पुछ्दै फ्यानको छेवमा बसिन् , अनि विस्तारै भनिन् , लक्ष्मी हाम्री छोरी होइन त सर । हामीले छोरी जस्तै गरेर पालको मात्र हो । हाम्रा बुढाले बोर्डरमा भेटेका । कता बम्बैतिर वेच्न लान लागेको रहेछ , हाम्रा बुढाले बचाएर ल्याएका । मान्छे डराइभर भए पनि मनको काइदाका छन् नि । उनले माया गरेर ल्याएको भएर हामीले एकवचन गाली पनि नगरी पालेको सर । तर छन् पनि छोरी नै थिई । हाम्रो परिवार , पसल सबै तिनैले धानेकी थिई । अझै पनि मान्छे लक्ष्मीको पसलमा गएर खाने भनेर आउँछन् । हाम्री त लक्ष्मी नै थिई । ...”
तिनले त्यति भन्दै गर्दा दुवै आँखाले सम्मानपूर्वक आकार बदलिसकेका थिए । बैकनी बोल्दै थिई, म केही सुन्दै थिएँ के बुझ्दै थिएँ , के गर्नु सर माया लाग्छ । छोरी भन्दा प्यारी थिई । शेरचनसरले त दुबई तिर काममा पठाइदिन्छु पनि भन्नुभा थियो । अब आमाबाबा आएरै लिन आएपछि त उनको त पुनर्जन्म नै भो नि, होइन र सर ? ”
त्यति भन्दा भन्दै तिनले अर्को एउटा विन्ती गरी , तर सर यो कुरा अरुतिर नजावोस् , लक्ष्मीको बेइज्जती हुन्छ । फेरि यो पसल त उसैको नाउँले चल्छ नि होइन र सर ।
बैकनी त्यति भनेर गई तर म त लक्ष्मी अध्याय मै अल्झेँ ।
आजकाल काठमाण्डू जाँदा लक्ष्मी इन्टरनैशनलको बाटोबाट एयरपोर्ट जान्छु र एक झलक साइनबोर्डमा हेर्छु , साइनबोर्ड त्यही छ तर पसलको साइज डब्बल भएको छ , आजकाल पसलमा गँडेश र बैकनी सहित थप तीन वेटर छन् र उनका छोरा गोकुल ल्यापटप् लिएर काउन्टरमा बसेका हुन्छन् ।
म लक्ष्मीलाई झल्झली सम्झिन्छु । लक्ष्मी इन्टरनैशनलकी लक्ष्मी । साँच्चैकी लक्ष्मी रहिछिन् ।
शेरचनजीले कति ठीक भनेका रहेछन्, उनी लक् मी नै हुन् । गँडेश र बैकनीका लक् । आफ्ना सारा भाग्य यही पसलमा छोडेर गइन् । वर्षौँपछि यो पसलमा कुनै दिन लक्ष्मी आई भने उनले पनि यो पसललाई चिन्न सक्दिनन् । यो साँच्चैको लक्ष्मी इन्टरनैशनल भइसकेको छ, लक्ष्मीको नामले ।
म लक्ष्मीलाई झल्झली सम्झिन्छु । लक्ष्मी इन्टरनैशनलकी लक्ष्मी । साँच्चैकी लक्ष्मी रहिछिन् ।
००