मुख्य पृष्ठ » कविता » "हो कमरेड, म किताब खोजिरहेछु" !

"हो कमरेड, म किताब खोजिरहेछु" !

bool(false)

आफ्नै पुस्तक दराजमा
अथवा पुस्तकालयका पुराना तख्ताहरुमा
पुस्तक प्रदर्शनीहरुमा अथवा इन्टरनेट ठेगानाहरुमा
कहाँ भेटिन्छ म सोचिरहेछु
हो कमरेड म किताब खोजिरहेछु !


कतै भेटिइ पो हाल्छ कि त्यस्तो पुस्तक
जसबाट ज्ञान मिलोस्
हेर्दाहेर्दैको ऐना किन चर्किन्छ चरक्क
र देखिन्छ आफ्नै अनुहार दुइतिर
बेरिँदा बेरिँदै अँगालोमा
किन देखिन्छ आफ्नै प्रेमिकाको अनुहारमा विषकन्याको छायाँ
किन लाग्छ आज आफ्नै कमरेडको हात पनि सिस्नोको मुठा जस्तो
र झट्कार्न मन लाग्छ आफ्नै हात मिलाउँदा नमिलाउँदै
कान काटिने डरमा बच्चाले आफ्नै कान छोपेजस्तो
लुकाउन मन लाग्छ हात खल्तीभित्र
हो जान्नु  छ मलाई आज
किन सप्रिंदैछ शंकाको  खेती र चलिरहेछ घृणाको व्यापार
कहाँ मिल्दछ यसको उत्तर आज म निकै सोचिरहेछु
हो कमरेड म किताब खोजिरहेछु !


किन चल्छ अहमको रात्रीबस साम्यवादको राजमार्गमा पनि
त्याग र समर्पणको जँघार तरिसकेपछि पनि
किन गल्छन् पिँडुला फत्रक्क स्वार्थको वगरमा
एसल्टमा जान तँछाडमछाड गर्ने मनहरु आज
किन सिकिरहेछन् म्यूजिकल चेयरका नियम
भूमिगत भयो एकाएक किन त्यो इमान त्यो सोझोपन
चलिरहेछ आज किन यो जालझेल र छलछाम
किन काट्न मन लाग्दैन जुँगा आजकल
किन गइरहन्छ हात जुँगामा बारम्बार
र हेर्दै आफ्नै कमरेडको अनुहार
नापिरहन्छ आफ्ना जुँगाको लम्बाइ
किन भुत्ते लागिरहेछन् आज हँसिया हथौडा
र थप्न मन लागिरहेछ झण्डामा
चम्किलो, धारिलो एक थान कैंची
थाहा पाउनु छ यो सबै, कहाँ भेटिन्छ यसको उत्तर
सबै सबैलाई म सोधिरहेछु
हो कमरेड, म किताब खोजिरहेछु !


पार्टी बैठकमा वा चिया पसलमा
बसमा यात्रा गर्दा वा पैदल सडकमा
जो जहाँ भेटिन्छ म सोधिरहेछु
आफ्नै घर जाँदाजाँदै यी पैताला अकस्मात्
किन मोडिन्छन् मसाज सेन्टरको बाटोतिर
आफ्नै पार्टी कार्यालय जाँदा पनि आजकल
किन पुगिन्छ सरासर विपक्षी दलको कार्यालय
भयभित लाग्छ किन आफ्नै अनुहार सग्लो ऐनामा
र फुटाएर झिक्न मनलाग्छ एक टुक्रा सिसा आफ्ना लागि
ता कि लिएर हिँडन सकियोस हरेक दिन खल्तीमा र हेर्न सकियोस्
मन लागेको बखत एक टुक्रा अनुहार सडकमा
जान्नु छ यो सबै सबै के मिलेको छैन यहाँ
किन चम्किन्छ विजुली सधैं सधैं यही घरको धुरीमा
हेर्दाहेर्दैको ऐना किन चर्किन्छ चरक्क
र देखिन्छ आफ्नै अनुहार दुइतिर
कहाँ मिल्दछ यसको उत्तर म बारम्बार सोधिरहेछु
हो कमरेड, म किताब खोजिरहेछु !


पाठकको प्रतिक्रिया
Books on Market

अक्षर अक्षरमा देश

रचनाकार : दीपक समीप

प्रकाशक : बी एन पुस्तक संसा ...

बितरक : मुक्तक

पूरा पदनुस

रचनाकार : असीम सागर

प्रकाशक : फाइन प्रिन्ट बुक ...

बितरक : कविता

पूरा पदनुस