मुख्य पृष्ठ » कविता » ईश्वरको ठेगाना

ईश्वरको ठेगाना

भन्नेहरुले त ईश्वर मरिसक्यो भने,
भन्नेहरुले
कोहि नहुनेको ईश्वर हुन्छ पनि भने

अहममा कोहिकोहिले
कहिलेकाहिँ त ईश्वर आफैँ हुँ झैँ लाग्छ भने,
प्रसन्नतामा कोहिकोहिले
यसैगरी सँधै ईश्वरको वास होस भने,
रुवावासी गर्दै कोहिकोहिले
अव त यो दुखीकोमा पनि वास गर न ईश्वर भने

कसैले ईश्वर दाहिना रहुन्
भनेर आशीर्वाद दिए,
कसैले ईश्वरले तँलाई कहिल्यै भलो नगरुन
भनेर कटु श्राप दिए

विहानीको घामको आभाजस्ता
चम्किला स्कुले केटाकेटीहरुले
ईश्वर झोलामा छन् भने

दुर्वोध्य समयको लहरैलहर बगेर
मृत्युको किनारमा पुगेपछि
ईश्वर रिझाउन हिँडेका
फुलेका काँसजस्ता मान्छेहरुले
ईश्वर चार धाममा छन् भने

काँचको पर्दामा
मैले भोट दिएको मोटो कम्युनिस्ट उभियो र भन्यो-
ईश्वरको जन्म हाम्रै देशको कुनि कता भएको हो,
अव म ईश्वरलाई घर बनाईदिन्छु,
अव म ईश्वरलाई नागरिकता दिन्छु,
अव म ईश्वरलाई बजेट छुट्याईदिन्छु

लगत्तै जलेको आफ्नै घरको खरानी बोकेर
एउटा मैलो चेपाङ पर्दामा आयो
बेस्सरी रोयो र सोध्यो
ए ईश्वर! मेरो घर खोइ?
अब मेरो ठेगाना कहाँ हो?

 

पाठकको प्रतिक्रिया
अन्य कविताहरू