मुख्य पृष्ठ » कविता » निगालो र चरो

निगालो र चरो

सफा निलो आकाशमा
टाढा कतैबाट
उड्दै आयो
एउटा सानो चरो
र, बस्यो टपक्क
निगालोको टुप्पोमा 


सानो चराको
हलुका टेकाइमा
सर्लक्कै झुक्यो निगालो


सन्तुलन मिलाउँदै गयो चरो
झुक्दै गयो निगालो


भुइँ छुनै लाग्दा निगालोले
भुर्र उड्यो चरो
चरो बिलायो
सफा निलो आकाशमा


निगालो फर्कियो
आफ्नै अवस्थितिमा


बिर्सेंला के कुनै दिन
निगालोले चरालाई ?
सम्झेला के कुनै दिन
चराले निगालोलाई ?

पाठकको प्रतिक्रिया
अन्य कविताहरू