नइ जोडीको बेलायतमा सम्मान

२२ अगष्ट, २०१४

बेलायतस्थित नेपाली साहित्यकारहरूद्वारा बेलायत भ्रमणमा रहनुभएका वरिष्ठ साहित्यकार नइ जोडी नरेन्द्रराज प्रसाईं तथा इन्दिरा प्रसाईंलाई भव्य सम्मान अभिनन्दन गरिएको छ ।

स्थानिय वएम्ली रेष्टुरेन्टको समारोह हलमा नेपाली साहित्य विकास परिषद् यूके र आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति बेलायतद्वारा आयोजना गरिएको समारोहमा प्रमुख अतिथि नेपाली साहित्य विकास परिषद् यूके का पदेन संरक्षक कार्यवाहक राजदूत श्री तेजबहादुर क्षेत्रीले नइ जोडीमा स्वर्ण सम्मान पत्रद्वारा सम्मान अभिनन्दन गर्नुहुँदै नेपाली भाषा साहित्य र संस्कृतिको महारथ नै हाँकीरहनु भएका वरिष्ठ साहित्यकार नइ जोडीलाई बेलायतमा सम्मान गर्न पाउँदा आफूलाई गर्व लागेको कुरा चर्चा गर्नु भयो ।

सभापतिको आसनबाट बोल्नुहुँदै नेपाली साहित्य विकास परिषद्का अध्यक्ष तथा भानु द्विशतवार्षिकी समारोह समिति बेलायतका उपाध्यक्ष कवि खगेन्द्र नेपाली, धन्यवाद अभिव्यक्ति दिनुहुँदै परिषद्का सहअध्यक्ष कवि ध्रुव के=सी= र स्वागत अभिव्यक्ति दिनुहुँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत शाखाका अध्यक्ष डा. रूपक श्रेष्ठले नइ जोडीको योगदान र श्रमको थलोभित्र नेपाली साहित्य हराभरा हुँदै फैलीरहको अनुभूति हामी सबैमा भइरहेको क्षणमा बेलायतमा सम्पूर्ण साहित्यकारहरूको तर्फबाट नइ जोडीको सम्मान गर्न पाउँदा गौरव लागेको छ भन्नु भयो ।

कार्यक्रमको सञ्चालन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् यूके का वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी महासचिव कवयत्री लक्ष्मी राईले लामो समयदेखि नेपाली भाषा साहित्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फाँटमा अतुलनीय र अग्रिणी योगदान पु-याउँदै आउनु भएका वरिष्ठ साहित्यकार नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंको बेलायतमा भएको यस उपस्थितिले नेपाली साहित्यको इतिहास निर्माण गर्न बेलायतमा एउटा ईटा अर्को थपेको छ भन्नुभयो ।
समारोहमा सम्मान ग्रहण पश्चात आफ्नो मन्तव्य दिनुहुँदै वरिष्ठ साहित्यकार द्वय नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले बेलायतमा आउँदा यसरी साहित्यिक जनसमाजको माया र सम्मान पाउँदा आफूहरूलाई गौरव लागेको कुरा चर्चा गर्नुहुँदै अब नेपाली साहित्यको बाटोबाट विश्वभर रहेका नेपाली एक ढिक्का हुँदै नेपाल र नेपालीको विकास माथि पु-याउनुपर्छ भन्नुभयो ।

समारोहमा विभिन्न सामाजिक तथा साहित्यिक संस्थाका प्रमुख तथा पदाधिकारीहरूद्वारा नइ जोडीमा खादा, पुष्पगुच्चा तथा टोकन अफ लभ लगायतका सम्मान तथा उपहारहरू अर्पण गरिएको थियो । यसक्रममा नइ जोडीको व्याखात्मक स्तुती लेखिएको स्वर्ण सम्मानपत्र भानु द्विशतवार्षिकी समारोह समितिका सल्लाहकार तथा परिषदका संरक्षक प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीद्वारा नइ जोडीमा कर्तलध्वनीका साथ अभिनन्दन गरिएको थियो । यसैगरी काव्यात्मक स्तुती लेखिएको काव्यिक सम्मानपत्र परिषद्का वरिष्ठ सहअध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लद्वारा अर्पण गरिएको थियो भने परिषद्का अध्यक्ष कवि खगेन्द्र नेपाली, यती नेपाली एसोशियसनका अध्यक्ष उमेशराज मोक्तान, नेपाली समाज केन्टका अध्यक्ष कवि घनबहादुर थापा र नेपाली महिला संघ बेलायतकी सदस्य कोहिनूर श्रेष्ठ मल्लद्वारा कलात्मक टोकन अफ लभ सम्मान स्वरूप नइ जोडीमा अर्पण गरिएको थियो । समारोहमा नइ जोडीको सम्मानमा रात्रीभोज तथा साहित्य सन्ध्याको पनि आयोजना गरिएको थियो । साहित्य सन्ध्यामा कविता वाचन गर्ने कविहरूमा नवराज घिमिरे, लक्ष्मी राई, प्रतिभा बोहरा, खगेन्द्र पाठक, गोपीकृष्ण प्रसाईं, डा.रूपक श्रेष्ठ, घनबहादुर थापा, डा.सुधा श्रेष्ठ, राज श्रेष्ठ र कोमलप्रसाद श्रेष्ठ मल्ल हुनुहुन्थ्यो ।

समारोहमा पत्रकारहरू नेपाल टी.भी. का रञ्जित बस्नेत, भिजन संसारका सनम वैराग, अभिमन्यू वैराग, अनलाइन पत्रिकाका एभरेष्ट गौतम लगायतका पत्रकारहरूद्वारा नइ सम्मान अन्तरक्रियामा सहभागिता रहेको थियो ।
 
 

समाचार स्रोत : कोमल श्रेष्ट मल्ल

२१ अगस्त लन्डन

पाठकको प्रतिक्रिया