लेखनाथ साहित्य पुरस्कार मुकुन्दशरणलाई

२१ डिसेम्बर, २०१५

लेखनाथ साहित्य पुरस्कार—२०७२ कवि मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिनेभएको छ । लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित पुरस्कारको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र छ । प्रतिष्ठानका सल्लाहकार कृष्णप्रसाद बाँस्तोलाको संयोजकत्वमा डा. वासुदेव त्रिपाठी, डा. प्रतिभा पाण्डे, लेखनाथ साहित्य पुरस्कार अक्षयकोष सञ्चालक समितिका अध्यक्ष शुक्रराज अधिकारी र प्रतिष्ठानका सदस्य सचिव कृष्णप्रसाद पौडेल सदस्य रहेको पाँच सदस्यीय समितिको सिफारिस पुरस्कार कवि उपाध्यायलाई प्रदान गर्ने निर्णय भएको हो ।

कविशिरोमणि लेखनाथ पौडेलको १ सय ३२ औँ जन्मजयन्तीका अवसरमा पुस १५ गते पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए । कास्कीको हेमजामा विसं १९९७ मा जन्मिएका कवि उपाध्यायका प्राकृत पोखरा (खण्डकाव्य), धरती र आकाश (कविता संग्रह), शैलसरिता (संस्कृत कविता संग्रह), महाभारत सुक्तिसुधा (सुक्ति संग्रह), वरदान (उपन्यास) लगायत आठ कृति प्रकाशित छन् । प्राकृत पोखराले २०२१ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । भाषाको क्षेत्रमा पनि क्रियाशील कवि उपाध्यायले २०२५ सालदेखि नेपाली भाषाको विश्वव्यापी एकरुपता अभियान सञ्चालन गरिरहेका छन् ।

कविशिरोमणीकी कान्छी छोरी स्वर्गीय कुन्तीदेवी भट्टराईको परिवारबाट स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठान पोखराद्वारा सञ्चालित पुरस्कारबाट यसअघि २०६७ मा नेपाली शिक्षा परिषद् काठमाडौँ, २०६८ मा डा. वासुदेव त्रिपाठी, २०६९ मा साहित्यकार मदनमणि दीक्षित, २०७० मा जनकविकेशरी धर्मराज थापा, २०७१ म साहित्यकार मोदनाथ प्रश्रित सम्मानित भइसकेका छन् ।

 

समाचार स्रोतः समाधान राष्ट्रिय दैनिक, पोखरा ।

पाठकको प्रतिक्रिया