गजलकार ईश्वरमणि सम्मानित

०७ अप्रिल, २०१३

पोखरेली गजलकार ईश्वरमणि अधिकारी शिवपुरी गजल सम्मानबाट सम्मानित हुनुभएको छ । शिवपुरी साहित्य समाज, काठमाण्डौले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कार यस वर्ष अधिकारीलाई काठमाण्डौको शिवपुरी खप्तड आश्रममा शनिबार आयोजित एक कार्यक्रका बीच प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले प्रदान गर्नुभएको हो ।

कार्यक्रममा अधिकारीसँगै विष्णु–पुष्पा साहित्यिक पत्रकारिता पुरस्कारबाट चितवनबाट प्रकाशित हाम्रो मझेरीको ५०औं अङ्कका लागि सम्पादक÷प्रकाशक पुष्प अधिकारी ‘अञ्जलि’लाई र नरबहादुर भारती सम्मानबाट चन्द्रकान्त अर्याललाई पनि सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष विष्णु विभु घिमिरे, उपाध्यक्ष विष्णुबहादुर सिंह, सचिव मनोज न्यौपानेलगायतले बोल्नुभएको थियो ।

पोखरामा रहेर दुई दशकदेखि साहित्यमा क्रियाशील अधिकारीलाई नेपाली साहित्यको गजल विधामा उल्लेख्य योगदान पु¥याएको भन्दै सो पुरस्कार प्रदान गरिएको हो । वि. सं. २०२६ जेठ ३ गते भारते–१, देउराली, लमजुङमा जन्मिनुभएका अधिकारीका समयको तस्वीर (कवितासङ्ग्रह), हृदयको आलाप (गजलसङ्ग्रह) र सगरमाथा आरोही अरविन (जीवनी) प्रकाशित छन् भने निकट भविष्यमै एक कवितासङ्ग्रह प्रकाशोन्मुख रहेको छ ।

यसअघि समता काव्य सम्मान, गजल प्रतिभा पुरस्कार, पत्थर गजल साधना सम्मान तथा पुरस्कारलगायतबाट पुरस्कृत अधिकारी सम्मोहन साहित्यिक पत्रिका, गजल सन्ध्या, पोखरेली युवा सांस्कृतिक परिवारलगायतका संघ संस्थामा आबद्ध रहँदै आउनुभएको छ ।

सो पुरस्कारबाट यसअघि गजलकार ज्ञानुवाकर पौडेल, साधना प्रतीक्षा, श्रेष्ठ प्रिया पत्थर र धनराज गिरी सम्मानित भइसक्नुभएको छ ।

रुपिन्द्र
पोखरा, चैत्र १७ गते ।

पाठकको प्रतिक्रिया