पोखरेली कवि कुलबहादुर के. सी. अब रहेनन् !

१७ मार्च, २०१३

(तस्विर: कवि कुलबहादुर के. सी. ले हरिदेवी कोइराला राष्ट्रिय साहित्य पुरस्कार प्राप्त गर्दाको क्षण !)

विगत केही समयदेखि फोक्सोको क्यान्सरबाट पीडित कवि कुलबहादुर के. सी.को शनिबार बिहान सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । के. सी.को शुक्रबार साँझ आफ्नै निवास बाटुलेचौरमा निधन भएको थियो ।

पोखराका साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको केसीको अन्त्येष्टिमा शुक्ला साहित्य समितिका अध्यक्ष नेत्रबहादुर बानियाँले उहाँको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने छोरा मानबहादुर केसीले पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो ।
वि. सं. २००३ असार १४ गते माता उषा केसी र पिता भोजराज केसीका छोराका रुपमा जन्मिनुभएका कवि केसी खास गरी छन्दकविका रुपमा परिचित हुनुहुन्थ्यो । केसीका मुटुका झिल्का कवितासङ्ग्रह २०३९ सालमा पहिलो कृति छापिएको थियो भने हालसम्म गरिब उस्तै छ, गाउँले, आशौच बार्दै छन् कविताहरु, विजय उन्मुख अक्षरहरु, आलोक, समयका सौगातहरु, समय तरङ्ग (भाग १ र २) गरी कविता, मुक्तक, खण्डकाव्यका ९ वटा कृतिहरु प्रकाशित छन् भने प्रशस्त फुटकर रचनाहर प्रकाशित भएका छन् । समसामयिक विषयमा छन्दोबद्ध कविता लेख्न सिपालु कवि केसीको निधनले पोखरेली साहित्य मात्र नभई नेपाली कविताकै क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न स्रष्टाहरुले दुःख व्यक्त गरेका छन् ।

शुक्ला साहित्य समितिका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष कवि केसी प्रगतिशील लेखक संघ, विन्ध्यवासिनी उच्च मावि व्यवस्थापन समिति, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानलगायत विभिन्न सामाजिक र वाङ्मयिक संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो । २० वर्ष सरकारी सेवा गरी निवृत्त उहाँले अम्बा प्रतिभा पुरस्कार, गण्डकी साहित्य पुरस्कार, हरिदेवी कोइराला राष्ट्रि«य साहित्य पुरस्कार प्राप्त गर्नुका साथै मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, जनसाँस्कृतिक मञ्चलगायतका संस्थाबाट सम्मानित हुनुभएको थियो । स्वर्गीय केसीका एक छोरा, ४ छोरी हुनुहुन्छ ।

-रुपिन्द्र
पोखरा, चैत्र ३ गते ।

पाठकको प्रतिक्रिया