गजल प्रतिभा पुरस्कार गजलकार समीपलाई

२० अगष्ट, २०१२

गजल सन्ध्या पोखराले हरेक वर्ष मोती जयन्तीको अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार यस वर्ष गजलकार दीपक समीपलाई प्रदान गरिने भएको छ । समीपले नेपाली गजलमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गजल सन्ध्याको कार्यसमितिद्वारा गठित सल्लाहकार ईश्वरमणि अधिकारीको संयोजकत्वमा पूर्व अध्यक्ष रुपिन्द्र प्रभावी ‘कटु’, सल्लाहकार लक्ष्मण थापा सदस्य तथा अध्यक्ष मन क्षेत्री र सचिव सुरेन्द्र पौडेल पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिशमा सो पुरस्कार प्रदान गर्न लागिएको गजल सन्ध्याले जनाएको छ । सो पुरस्कार आगामी भदौ ९ गते एक विशेष समारोहका बीच गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यमा प्रदान गरिने पनि सन्ध्याले जनाएको छ ।

वि. सं २०३३ जेठ १६ गते लमजुङमा जन्मिनुभएका गजलकार समीपले झण्डै दुई दशकदेखि नेपाली गजलमा साधना गर्नुभएको छ । उहाँको २०६२ सालमै ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह प्रकाशित छ जसले गजल साधना सम्मान तथा पुरस्कार प्राप्त गरेको थियो । विशेष गरी पोखरेली गजलको संस्थागत विकास गर्न उल्लेखनीय भूमिका खेलेको मानिने समीप यसअघि उत्कृष्ट लघुकथाकार पुरस्कार, उत्कृष्ट मुक्तककार पुरस्कार, समता काव्य सम्मान, अनलाइन अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, शिल्पी साहित्य सम्मानलगायतले पुरस्कृत भइसक्नुभएको छ ।

स्रोत : रुपिन्द्र प्रभावी

पोखरा, भदौ ४ गते ।

पाठकको प्रतिक्रिया