सिड्नीमा कार्कीका कविता

१४ फेब्रुवरी, २०१६

आज आइतबार प्रेम दिवसको सन्दर्भ पारेर अनेसास सिड्नी च्याप्टरले साहित्यकार नवराज कार्कीको एकल कविता वाचन कार्यक्रम सम्पन्न गर्यो । यसअघी पनि फुटकर कविता सुनाएर सिड्नीवासीको मन जितिसकेका नवराजलाई यसपालि भने एकल कविता वाचनको अवसर जुर्यो । वाचनको क्रममा कार्कीले श्रृंगार रसलाई बढी प्राथमिकता दिएका थिए । ब्यंग कविता र मुक्तकमा बढी प्रखर मानिने नवराज कार्कीले करिब दुई दर्जन रचाना वाचन गरे । कविले दारी, म्वाईं र मन जस्ता कविताहरू सुनाइरहँदा स्रोताहरूले रमाइलो मानेर बीच बीचमा ताली बजाएका थिए । सुरेन्द्र दवाडिको संचालनमा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष महेन्द्र पौडेलले गरेका थिए भने कवि नवराज कार्कीको साहित्यिक परिचय अनेसासका अन्तर्राष्ट्रिय उपाध्यक्ष भीमसेन सापकोटाले दिएका थिए । 

धेरैलाई थाहा नहुन सक्छ, नवराज कार्की, अरुण थापा लगायतका गायक गायिकाले सरोज गोपालको संगीतमा गाएको बहुचर्चित राष्ट्रिय गीत ‘करोडौँ मुटुहरूको एउटै ढुकढुकी नेपाल’ का रचनाकार पनि हुन् ।

पाठकको प्रतिक्रिया