युगकवि को शतवार्षिकी समारोह सम्पन्न

१९ जुन, २०१२

 
लण्डन, जुन १०, राष्ट्र्यि साहित्यिक धरोहरहरुमा सम्मान तथा श्रध्दान्जली अर्पण गर्ने परंपरालाई निरन्तरता दिंदै संयुक्त अधिराज्यमा जेठो नेपाली साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद युकेले युगकवि सिध्दिचरण श्रेष्ठको शतवार्षिकी एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर मनायो ।

परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीको सभापतित्वमा भएको उक्त श्रध्दान्जली कार्यक्रममा प्रमुख अतिथि सो परिषदका पदेन संरक्षक राजदूत महामहिम डा सुरेशचन्द्र चालिसे,अन्तरराष्ट्र्यि साहित्यिक समाज युके च्याप्टरका अध्यक्ष्य होम परिवाग,नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष्य रक्ष राई तथा बेलायतमा रहेका लव्धप्रतिष्ठित साहित्यिक श्रष्ठाहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि राजदूत डा सुरेशचन्द्र चालिसे र परिषदका अध्यक्ष्य खगेन्द्र नेपालीले पानसमा बत्ति बालेर कार्यक्रम प्रारम्भ गरिएको थियो । सो समारोहमा उपस्थित सबैले युगकवि सिध्दिचरण श्रेष्ठको तस्वीरमा श्रध्दासुमन अर्पण गरेका थिए ।

नेपाली साहित्य विकास परिषदका संस्थापक सुरेशजंग शाहले युगकविका विविध विलक्षण साहित्यिक प्रतिभाहरुमाथि प्रकाश पार्दै उनका कृतिहरु विश्वस्तरीय साहित्य भएको बताउनु भयो ।
गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष्य कुल आचार्यले युगकवि सिध्दिचरण श्रेष्ठको शतवार्षिकी मनाउन लागिएकोमा खुशी प्रकट गर्दै एनआरएनले पनि साहित्यिक संस्थाहरुसंग सहकार्य गर्ने कार्यक्रम गर्ने सोच बनाइरहेको खुलासा गर्नुभयो ।

अन्तरराष्ट्र्यि साहित्यिक समाज युकेका अध्यक्ष्य होम परिवागले युगकविसंगको सामिप्यको चर्चा गर्दै उहांको सरल तथा स्वच्छ आचरणबाट आपूm ज्यादै प्रभावित भएको बताउनु भयो । वहांले नेपाली साहित्यले २०० वर्षको नियन्त्रण भोग्न नपरेको भए त्यो विश्व साहित्यको दांजोमा पुग्ने दावी गर्नुभयो ।

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका अध्यक्ष्य रक्ष राईले डायस्पोरामा डायस्पोरिक साहित्य सृजना तीव्रगतिमा अघि बढिरहेको भए तापनि अपेक्षाकृत रुपमा गुणात्मक विकास हुन सकिरहेको छैन त्यसकारण सृजनाको स्वत्व र मौलिकताको सही पहिचान हुनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख अतिथि महामहिम डा सुरेशचन्द्र चालिसेले विदेशमा नेपाली साहित्यको विकासमा हुने कार्यक्रमहरुलाई नेपाल सरकारले ठूलो महत्व दिन्छ र यस्ता कार्यक्रमहरुमा हुने वहांका उपस्थितिहरु त्यसका उदाहरण हुन् भन्नुभयो । कार्यक्रममा उठाइएको एउटा प्रसंगको सिलसिलामा राजदूत डा चालिसेले संस्थागतरुपमा ल्याइने साहित्यिक श्रष्ठाका तस्वीरहरु दूतावासमा टांगिने वचन पनि दिनुभयो ।

परिषदका सह महासचिव सुशिला कार्कीको स्वागत मन्तव्य र कोसेली सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष्य मदन थापाले सारंगीमा बजाउनुभएको मंगलधूनबाट शुरु भएको सो कार्यक्रम महासचिव डा सुधा श्रेष्ठ र सदस्य ज्ञानेन्द्र राउतले संचालन गर्नु भएको थियो । कार्यक्रममा डा सुधा श्रेष्ठले परिषदको उद्येश्य र भावी कार्यक्रमवारे प्रकाश पार्नु भएको थियो भने वरिष्ठ सह अध्यक्ष्य कोमल मल्ल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा कोमल श्रेष्ठ मल्ल, अजिता सिंखडाबाट बलदेव भटृव्दारा रचित कविता वाचन, हरिसिंह थापा, लक्ष्मी राई, विजय हितान,उषा भटृ, डा रुपक श्रेष्ठ, सुशिला कार्की, वसन्त राय क्षेत्री, लक्ष्मी भुषाल,रक्ष राई, नारायण गाउंले, गोकुल भण्डारी, कृष्ण बजगाईं र सुधा श्रेष्ठले कविता पाठ गर्नु भएको थियो ।

नेपाली साहित्य विकास परिषद युकेका अध्यक्ष्य खगेन्द्र नेपालीले व्रिटेनमा रहेका साहित्यिक संघसंस्थाहरु एकसाथ बसेर युगकवि सिध्दिचरण श्रेष्ठको शतवार्षिकी मनाएकोमा हर्ष प्रकट गर्नुका साथै यस किसिमका कार्यक्रमहरुले निरन्तरता पाइरहने आशा तथा विश्वास व्यक्त गर्दै कार्यक्रम विसर्जनको घोषणा गर्नु भएको थियो
 स्रोत : बिश्वदिप टिगेला



पाठकको प्रतिक्रिया