पोखरामा गजल उत्सव हुने

२३ अप्रिल, २०१३

पहिलो पटक सिर्जनाको मूल्य खोजेर नेपाली साहित्यमा नयाँ परम्पराको थालनी गरेको पोखराले फेरि अर्को एउटा विशिष्ट प्रस्तुती नेपाली साहित्यलाई दिने भएको छ । अहिलेसम्म पनि हेयका दृष्टिले हेरिने विधा गजललाई जनजीविका र जनमानसको प्रिय विधा बनाउनका लागि ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित क्रियाशील गजल सन्ध्या, पोखराले देशभरका गजलकारहरुलाई पोखरा भित्र्याएर गजल उत्सव गरी नयाँ वर्ष २०७०लाई स्वागत गर्ने भएको छ ।

आगामी वैशाख २८ गते पोखरा सभागृहमा दिउँसो १ बजे हुने गजल उत्सव भव्य बनाउनका लागि सन्ध्याका अध्यक्ष मन क्षेत्रीको संयोजकत्वमा मूल आयोजक समिति तथा अन्य पोखरेली वाङ्मयिक संस्था र साहित्यकारहरुको सहभागितामा विभिन्न उपसमितिहरु गठन गरिएको छ । जसअन्तरगत बुद्ध गुभाजूको संयोजकत्वमा कृष्ण उदासी,    कपिल शर्मा ‘सञ्जोग’, सौगात सङ्घर्ष सदस्य रहेको मञ्च व्यवस्थापन उपसमिति, रुपिन्द्र प्रभावीको संयोजकत्वमा सुरेन्द्र पौडेल, फडिन्द्र अकिञ्चन र एमबी आस्था सदस्य रहेको प्रचार–प्रसार उपसमिति, ईश्वरमणि अधिकारीको संयोजकत्वमा विष्णुप्रसाद बाँस्तोला, कपिल शर्मा ‘सञ्जोग’ र रुपिन्द्र प्रभावी सदस्य रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

 

त्यसैगरी, उदिपराज ढुङ्गानाको संयोजकत्वमा बिर्सना बस्नेत, श्रीकान्त लुइँटेल, एमबी आस्था, कृष्ण देवकोटा, किरण थापा ‘आमोद’, सौगात सङ्घर्ष र लक्ष्मण तिमिल्सिना सदस्य रहेको अर्थ व्यवस्थापन उपसमिति, श्रीकान्त लुइँटेलको संयोजकत्वमा सुवास मल्ल, सुमन लम्साल, लक्ष्मण तिमिल्सिना, महेन्द्र आचार्य, सरिता पौडेल, निरजबाबु भट्ट, सरला लामिछाने ’सरु’, पवित्रा भण्डारी ‘पारु’ सौगात सङ्घर्ष र दीपकराज त्रिपाठी सदस्य रहेको टिकट व्यवस्थापन उपसमिति र मन क्षेत्रीको संयोजकत्वमा लक्ष्मण थापा, सरस्वती प्रतीक्षा, दीपक समीप, ईश्वरमणि अधिकारी सदस्य रहेको गजलकार चयन उपसमिति पनि गठन गरिएको छ ।

नयाँ वर्षसँगै पोखरामा हुन लागेको यो कार्यक्रमले नेपाली साहित्यको गजल विधामा विशेष योगदान दिन सक्ने अर्थ व्यवस्थापन उपसमितिका संयोजक उदिपराज ढुङ्गानाले बताउनुभयो । गजलप्रेमीहरुले टिकट काटेर नेपालका चर्चित गजलकारहरुका गजल गायन र वाचन सुन्न सक्ने कार्यक्रमका लागि प्रायोजक, सहप्रायोजक तथा उपप्रायोजकहरुको पनि खोजी भइरहेको पनि ढुङ्गानाले बताउनुभयो । कार्यक्रमको प्रत्यक्ष प्रसारणका लागि एबीसी र गण्डकी टेलिभिजनका साथै पोखराका विभिन्न एफ. एमहरुले पनि सहयोग गर्ने अध्यक्ष मन क्षेत्रीेले जनाउनुभयो । उहाँले गजलवाचनका अलावा दिनेश गौतम, राज सिग्देल, विनोद बानियाँलगायतका गायक÷गायिकाहरुले पनि प्रत्यक्ष गजल गाउनुहुने बताउनुभयो । “हामी निकै उत्साहित भएका छौं, यो नेपाली गजलको एक ऐतिहासिक कार्यक्रम हुनेछ” गजल सन्ध्याका अध्यक्ष क्षेत्रीले भन्नुभयो, “पोखराले नेपाली साहित्यका धेरैजसो विधामा आफ्नो वैशिष्ट्य प्रस्तुत गर्दै आएको छ, हामी गजल उत्सवमार्फत् देशका गजलकारहरुको एक उत्कृष्ट जमघट मात्रै होइन, नेपाली गजल कति जनप्रिय छ भन्ने पनि देखाउन चाहन्छौं ।”

रुपिन्द्र प्रभावी
पोखरा

पाठकको प्रतिक्रिया