सिड्नीमा एल.बी. क्षेत्रीको एकल कविता वाचन

१२ अक्टोबर, २०१५

सिड्नी ।  साताको साहित्य डटकमको आयोजनामा साहित्यकार एलबी क्षेत्रीको एकल कविता वाचन कार्यक्रम सिड्नीमा सम्पन्न भएको छ ।

११ अक्टोवर आइतवार सिड्नीको दक्षिण रकडेलमा भएको उक्त कार्यक्रममा साहित्यकार क्षेत्रीले आफ्ना दुईवटा कृति “भिडमा हराएको मान्छे” र “इन्द्रमायाको देशमा” बाट रचनाहरु पाठ गरेका थिए ।

क्षेत्रीले स्वाभिमान, हाँस्य ब्यङ्ग्य, प्रकृति र माया प्रेम जस्ता बिषयमा आफ्ना रचनाहरु पाठ गरेका थिए ।
  साताको साहित्य डट कमका सम्पादक निस्प्रभ सजीले क्षेत्रीको परिचय दिने कविता वाचनबाट शुरु भएको कार्यक्रममा नेपाली समुदायका अगुवा डा. नारायण प्रधानले खदा ओडाएर क्षेत्रीलाई स्वागत गरेका थिए ।

कार्यक्रमको दास्रो सत्रमा “डायस्पोरामा नेपाली साहित्य” विषयमा अन्तरक्रिया समेत भएको थियो ।

अन्तरक्रियामा प्रवासी नेपाली साहित्यको विकास, चुनौती र अहिले भएका प्रयासहरु र क्षेत्रीको साहित्यिक यात्राबारे हर्ष गौतम, नवराज कार्की, डा किरण थापा, सुजीत सिग्देल, बिज्ञान कँडेल, सुरेन्द्र दवाडी लगाएतले जिज्ञासा राखेका थिए ।

अन्तरक्रियामा प्रवास पनि नेपाली साहित्यको बिकासको लागि उर्वर बन्दैगएको सहभागिहरुको निचोड थियो ।  
सजीका अनुसार छोटो समयका लागि अस्ट्रेलिया भ्रमणमा रहेका क्षेत्रीसँग यहाँका साहित्यि प्रेमीहरु बीच जमघट गराउन कार्यक्रको आयोजना गरिएको हो ।  क्षेत्रीसँग चितवनको विरेन्द्र बहुमुखि क्याम्पसका भुतपूर्व विद्यार्थीहरुले भेटेर पुराना दिनहरुको स्मरण गरेका थिए  ।

साथै साताको साहित्य डटकमले अनलाइन पोर्टल मार्फत नेपाली साहित्यको बिकासमा खेलेको भुमिकाको कदर गर्दै निस्प्रभ सजी, डा किरण थापा र डिला खरेललाई मायाको चिनो प्रदान गरिएको थियो ।  

-ऋषि आचार्य

 

पाठकको प्रतिक्रिया