साताको साहित्य पुरस्कार पराजुलीलाई प्रदान

१२ डिसेम्बर, २०१५

गएको महिना साताको साहित्य डट कमले घोषणा गरेको साताको साहित्य पुरस्कार २०१५ को वितरण कार्यक्रम आज शनिवार शिल्पी थिएटरमा सम्पन्न भयो । कवि नवराज पराजुलीले आफ्नो कविता ‘सगरमाथाको गहिराइ’का लागि साताको साहित्य पुरस्कार पाएका हुन् ।

पुरस्कार स्वरुप प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, विशेष अतिथि मुकुन्दशरण उपाध्याय र कार्यक्रमका सभापति एवं साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीले संयुक्त रुपमा माल्यार्पण र नगद रु बीस हजार सहित ताम्रपत्र हस्तान्तरण गरेका थिए । पुरस्कार वितरण पश्चात कार्यक्रममा नवराज पराजुलीले पुरस्कृत कविता सहित उनका उत्कृष्ट आधा दर्जन कविता सुनाएका थिए ।

‘पुरस्कार र सम्मानलाई लेखकले होइन बरु असल लेखकलाई पुरस्कार र सम्मानले खोजी गर्नु पर्दछ’ भन्ने उद्घोषका साथ स्थापना गरिएको साताको साहित्य पुरस्कार हरेक वर्ष साताको साहित्यमा छापिएका रचानाहरूमध्येबाट सर्वोत्कृष्ट मानिएको रचनालाई प्रदान गरिन्छ । सन् २०१२ देखि अहिलेसम्म चारजना लेखकलाई यो पुरस्कार प्रदान गरिसकिएको छ । साताको साहित्य डट कमले लेखकलाई पारिश्रमिक स्वरुप रु पाँचसयको मोबाइल रिचार्ज पनि गर्ने गर्दछ । साताको साहित्यलाई अस्ट्रेलियामा बसोबास गर्दै आएका डा. किरण थापा र डिला खरेलले प्रायोजन गरेका छन् ।

पाठकको प्रतिक्रिया