सिड्नीमा अमरको ह्याङओभर

२४ जुलाई, २०१६

धेरैलाई थाहा नहोला, आफ्नो आख्यान सेतो धर्तीका लागि मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने कवि पनि हुन् र गजलकार पनि । हिजो आइतवार सिड्नीमा साताको साहित्य डट कम र नेपाली पत्र अष्ट्रेलियाको संयुक्त आयोजनामा अमर न्यौपानेले सिड्नीका पाठकहरूलाई स्तब्ध बनाए ।

नेपाली पत्रका सम्पादक ऋषि आचार्यले सबै पाठकहरूलाई स्वागत गर्दै शुरु भएको कार्यक्रमको सञ्चालन अर्जुनमणी पौडेल गरेका थिए । कविता वाचन, अन्तर्किया र पुस्तक हस्ताक्षरका लागि भनेर एक घण्टाका लागि भनेर छुट्याइएको समय लम्विएर साढे दुइ घण्टा भयो । आफ्ना तीनवटै आख्यानका रचनागर्भलाई उनीले कवितात्मक शैलीमा सुनाउँदा, पाठकहरूले समय लम्एिको पत्तै पाएनन् । अमरलाई सिड्नीले सुनिरहन खोज्यो । अन्तर्कियाका लागि सहजकर्ताको भूमिका कवि एवं उपन्यासका निष्प्रभ सजीले निभाएका थिए । 

निष्प्रभले आँफैले अमरसँग केही समय पहिले लिएको अन्तर्वाताको प्रसंग कोट्याए । जहाँ अमरले भनेका थिए, “कवितालाई प्रेम गरेँ र आख्यानलाई बिहे ।” निष्प्रभले सोधीहाले, “प्रेमिकालाई नै बिहे गरेको भए झनै रमाइलो हुन्थ्यो होला नि होइन र ?” कुची र कलम दुबै चलाउने अमरले किन कुचीलाई छोडेर कलमलाई बढी तिखारे भन्न प्रसंग होस् वा किन कविता लाई भन्दा आख्यानलाई बढी जोड दिनुभयो भन्न प्रश्न होस्, अमरले शालिन मुद्रामा मुसुक्क मुस्काउँदै कवितात्मक शैलीमा जवाफ दिइरहे ।

नेपालबाट पारिवारिक भेटघाटका लागि सिड्नी आएकी एकजना महिला पाठकले अमरलाई गजलकारको रुपमा पनि सुनेकाले एउटा गजल सुनाइदिन अनुरोध गरिन । उनीले सबै पाठकको अनुरोधलाई सहर्ष स्विकारे । कार्यक्रममा अमरले छ वटा कविता सुनाए  । पुस्तक हस्ताक्षर पछि पनि अमर पाठकहरुसँग अनेसास सिड्नीले आयोजना गरेको रात्रिभोजमा सरिक भए । सहजकर्ता एवं आयोजक सजीले यस कार्यक्रमले सबैमा निकै गहिरो छाप छोडेको बताए । नशापछिको ह्याङओभर जस्तै बसिरहने । अस्ट्रेलिया टुरमा निस्किएका अमरले व्रिसवेन र मेलवर्नमा पनि कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

पाठकको प्रतिक्रिया