स्मृति पुरस्कारबाट प्रतीक्षा सम्मानित

२८ डिसेम्बर, २०१२


नेपाली कविताका उल्लेखनीय प्रतिभा भूपि शेरचनको ७७ औ जन्मजयन्ती मङ्गलबार पोखरामा विभिन्न कार्यक्रमसहित मनाइएको छ । थकाली सेवा समिति पोखराले आयोजना गरेको भूपि स्मृति पुरस्कार समर्पण तथा विशेष कवि गोष्ठीका अवसरमा स्रष्टाहरुले भूपि जयन्तीलाई राष्ट्रिय क्यालेण्डरमा समेट्नुपर्नेमा जोड दिएका छन् ।

"भूपि दाइ,
यी भोकमा डुबेका चोकहरु उस्तै छन्
रातभरि उपियाँले टोक्नु पनि उस्तै छ

दिन दिनभरि रुपियाँले टोक्नु पनि उस्तै छ"



कवि उषा शेरचनले ‘सम्झनाको फूलबारीमा भूपि शेरचन’ शीर्षकको कवितामार्फत् भूपि शेरचनलाई सम्झिइरहँदा भूपि शेरचनकी जेठी श्रीमती ओमकुमारी शेरचनको भाव भङ्गिमा पनि निकै भावुक देखियो । साथमा छोरा समीर शेरचन पनि सम्झँदै हुनुहुन्थ्यो सायद आफ्ना कवि पिता भूपिलाई ।
वि. सं. १९९२ साल पुस १० गते मुस्ताङको थाक टुकुचेमा जन्मिनुभएका कवि भूपि शेरचनले नेपाली गद्य कवितामा पु¥याउनुभएको योगदानलाई सायदै कसैले बिर्सन सक्छ । शेरचनका घुम्ने मेचमाथि अन्धो मान्छेसहित नयाँ झ्याउरे र निर्झर कवितासङ्ग्रह तथा परिवर्तन नाटक प्रकाशित छन् । शेरचनले नै पहिल्याउनुभएको पदचाप पछ्याउने थुप्रै स्थापित प्रतिभाहरु छन् पोखरा र पोखराबाहिर र ती प्रतिभाहरुकै सक्रियतामा खुलेका साहित्यिक संस्था पनि थुप्रै छन् तर पोखरामा भने कुनै पनि साहित्यिक संस्थाले भूपिलाई सम्झने गरेका छैनन् । थकाली सेवा समिति, पोखराले हरेक वर्षझै यसपटक पनि भूपिलाई सम्झ्यो भूपि स्मृति पुरस्कार समर्पण तथा विशेष कवि गोष्ठी गरेर । शेरचनका कविताका अलावा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा, यो नपाली शिर उचाली जस्ता गीत पनि चर्चित छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ उषा शेरचनले कवि भूपि शेरचन राष्टको प्रतिभा भएर पनि उचित सम्मान प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले सरकारले कुनै पनि प्रतिभालाई उचित कदर गर्न नसकेकोप्रति गुनासोसमेत गर्दै सबैभन्दा ठूलो कुरा मानिसको मनमा बस्नु नै भएको र त्यो कुरा भूपिले पाउनुभएको बताउनुभयो ।
भूपिसँग साहित्यिक संगतसमेत गर्नुभएका वरिष्ठ साहित्यकार सरुभक्तले भूपि शेरचनको स्मृतिमा पोखराको मात्र नभै देशभरीकै साहित्यिक संस्थाहरुले कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।
सँस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठले थकालीसेवा समिति गैर साहित्यिक संस्था भएर पनि भूपिको स्मृतिमा कार्यक्रम गर्नु प्रशंसनीय भएको र शेरचन बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । सो अवसरमा भूपि शेरचनकी जेठी श्रीमती ओमकुमारी शेरचनद्धारा स्थापित भूपि स्म्ृति पुरस्कार २०६९ बाट पहिलोपटक कवि सरस्वती प्रतिक्षा सम्मानित हुनुभयो ।
कवि प्रतिक्षाले भूपि शेरचनजस्ता सम्मानित प्रतिभाको नाममा स्थापित पुरस्कार प्राप्त भएकोमा गौरवको महसुस भएको भन्दै आफूमा थप जिम्मेवारीबोध भएको बताउनुभयो ।
पुरस्कारको राशी नगद १० हजारसहित ताम्रपत्र र दोसल्ला छ । पुरस्कृत प्रतिभाको परिचय साहित्यकार कृष्ण उदासीले दिनुभएको थियो । कार्यक्रममा कवि विनोद गौचन, प्राज्ञ हरिदेवी कोइराला, नरेन्द्रमान शेरचनलगायतले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संयोजक मिलन शेरचनले र अध्यक्षता थकाली सेवा समितिका अध्यक्ष अम्बर तुलाचनले गर्नुभएको थियो ।
सोही अवसरमा सम्पन्न विशेष कवि गोष्ठीमा कवि अल्पज्ञानी र मन क्षेत्रीले भूपिका कविता तथा गायक सीडी विजय अधिकारीले गीत प्रस्तुत गर्नुभएको थियो भने कविहरु लक्ष्मण थापा, सुशील गौचन, बबी गौचन, रमा प्रासर, अर्जुनकुमार ढकाल, शरण आँसु, विष्णु बाँस्तोला, महेश पौडेल, इन्द्र राना प्रतीक, चैतन्य अधिकारी, वसन्त गौतम, देवी त्रिपाठी, सङ्गीता खड्का, सावित्री गौतमलगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो ।


रुपिन्द्र प्रभावी
पोखरा, १० पुस

पाठकको प्रतिक्रिया