मुख्य पृष्ठ » कृती / समीक्षा » भोजराजका एक जोर महंगा जुत्ता

भोजराजका एक जोर महंगा जुत्ता

निष्प्रभ सजी
नाम : निष्प्रभ सजी
ठेगाना : हेमजा, कास्की (हाल सिड्नी अष्ट्रेलिया
ईमेल : nisprabhsaji@gmail.com
  निष्प्रभ सजी का रचनाहरू

पोखरामा करिब एकदशक अगाडि पोखरेली युवा साँष्किृतिक परिवारको संयोजकत्वमा भ्रष्टाचार बिरुद्ध साहित्यिक गोष्ठी सम्पन्न भएको थियो । जसमा एउटा कविको रुपममा म पनि छानिएको थिएँ । हामीले पोखरामा रहेका बिभिन्न सरकारी कार्यालयहरूको अवलोकन गरि भ्रष्टाचारलाई निरुत्साहित पार्ने गरि कार्यलयस्थलमै बसेर कविताको रचना गर्ने र बेलुका कास्की जिल्ला बिकास समितिको सभाकक्षमा सरकारी अधिकृत र अन्य कर्मचारीहरूकै उपस्थितिमा तिनै कविताहरू वाचन गर्नुपर्ने जिम्मेवारी पाएका थियौँ ।

त्यतीनै बेला मसँग कास्कीको कर कार्यालयमा कविता लेख्ने जिम्मेवारी लिएर गएका थिए भोजराज न्यौपाने ।  हाम्रो भेट कविताका कारणले भएको थियो, अहिले पनि म उनीसँग उनकै कविता कृती ‘छुटेको जुत्ता’का कारण दशक पहिलेको समयलाई पोखराझैँ प्रियमानेर सुम्सुमाइरहेको छु । अलि पहिले यसकविताका संग्रहका केही प्रति सिड्नीमा कविकै आफन्तको हातबाट पाएको थिएँ । आवरण आर्कषक मानेँ र लक्ष्मी नाङ्खुसीले खिचेको कविको तस्बिर झनै लोभलाग्दो । कवि भोजराजको फोटोमा पनि एकजोर छालाका जुत्ता टलक्क टल्केका थिए । सोचेँ कवि श्यामल ले झैँ ‘हतारमा यात्रा’ गर्दा कवि भोजराजका जुत्ता साँच्चै कतै छुटेकै हुन् भने एकजोर महंगा जुत्ता छुटेछन् । तर थाहा छैन उनको बिम्ब कुन जुत्तामा र कसको जुत्तामा छरिएको छ ।

पहिलो पृष्ठ पल्टाउन नपाउँदै कवि श्यामलकै भूमिका देखेँ, जिज्ञाशा झनै बढ्यो । कविको समिक्षा कहिले कविता नलेखेको समिक्षकले गरेको अफ्ठ्यारो मान्ने मेरो मन अलिकति हलका भयो । कतिपय बेला समिक्षा पनि साहित्य झैँ लाग्छ । शंकर लामिछानेले पारिजातका लागि लेखेझैँ ।  तर मैले यसपाली कवि श्यामलको समिक्षा नै नपढिकन कविता पढ्न चाहेँ । अरुबेला भन्दा पृथक अनुभूति मिलोस् र म पूर्वाग्रही नबनुँ भन्ने सोचले मात्र ।

‘चराहरूको विवेक’ बाट शुरुभएको कविताको श्रृङ्खला ‘मेरो अनुपस्थितिमा’ गएर टुगिंयो । ३७ वटा कविताहरू संग्रहित एउटा चिटिक्कको कविता सँग्रहलाई कविले आफ्नी आमालाई समर्पण गरेका रहेछन् । आमा र कवितासँग जोडिएका केही संवेदनाका टुक्राहरू मैले पनि संगालेर राखेको छु । कतिचोटी जोडेको छु कविता बनाएर कति भने जोडिन मानेका छैनन् ।

“चराहरू
बुद्धको शिरमाथि
पशुपतिको गजुरमाथि
चर्चको क्रसमाथि
मस्जिदको क्रिसेन्टमाथि
एकनासले उड्छन् । ”

(चराहरूको विवेक, पृष्ठ १)

पहिलो कविताको यो अंश प्रतिकात्मक छ । मानौँ कविता यो अंशमै पूर्ण छ । कविताले के भन्न खोजेको छ भन्ने थाहा पाउनलाई मैले यसभन्दा तलको कवितांशको सहायता लिइन ।  
कवि भोजराजको दुविधाले घरिघरि कवितामा भनेको छ, बरु ढुँगाजस्तो मुटु नभएको जिन्दगी पो हो कि सजिलो ? किन अमिवा नै हुनु पर्छ र आकार बदल्न सक्नका लागि । अरुले नै बदलेपनि ढुँगा घरको गार्हाहरूमा चोइटिएको छ, मन्दीरका मूर्तिहरूमा कुँदिएको छ वा बगरमा ढुङ्गै भएर पल्टिएको छ । ढुङ्गा कमसेकम ढुंगा हुन छोडेको छैन । मुटु नभएर के भो ?

“ठक्कर दिनु हुँदैन ढुङ्गालाई
चोइटिन सक्छन्
जुधाउन हुँदैन ढुङ्गालाई
बल्न सक्छन्
तैपनि ढुङ्गाहरू कहिल्यै
आफैँ जुध्दैनन् ।”

(ढुङ्गा, पृष्ठ ८)

थाहा छैन कविले तलको कवितांशमा भने झैँ फुलहरूलाई उनीहरूकै शाश्वत नियम थाहा होला नहोला ! अथवा नझरी फूल फेरी फूल भएर फक्रिन सक्दैन भन्ने यथार्थवोध पनि शायद होला नहोला, तर यति थाहा छ, कविलाई फूलहरूप्रति सहानुभूति छ, एक प्रकारको कोमल सहानुभूति । तर कविलाई कतै भेटेँ भने सोध्न मनलागेको छ, फूलहरूले के साँच्चै निम्सरो हावाको झोक्कासँग हार्दै जानुमै सौभाग्य ठान्छन् ?

“फूलहरू हरेक दिन
भवँरासँग तर्सिन्छन्
र, उनीहरूसँगै समर्पित हुन्छन् ।
फूलहरू हरेक क्षण
हावाहुरीदेखि डराउँछन्
र, उनीहरुकै तालमा नाच्छन्
..................................
फूलहरूलाई शाश्वत नियम थाहा छ
नझरी फेरि कसरी फुल्नु ?”

(फूलहरू, पृष्ठ १८)

कवि सचेत छन्, असुरक्षित सडकहरूका बारेमा, हिटलरको ग्याँस चेम्बरको आतंक अझै पनि उनको कानको छेवैबाट निस्किन्छ । उनीसँग पनि स—साना सपनाहरू होलान्, त्यसैले उनी सपनाहरूको संवेदनशिलतालाई, गाम्भिर्यतालाई स्पर्श गर्न लालायित छन् ।

“कहाँ छुट्यो गोल्डस्टार जुत्ता ?
सुदूर पहाडको एउटा कुनामा
कहिल्यै नफाटोस् भनेर
तुना कसेको थिएँ
खै, कहाँ छुट्यो ?

भिडन्तमा बलमे उछिट्टिएको
मेरो खुट्टालाई
किन चाहियो जुत्ता ?
चाहिँदैन
कमरेड !
मिल्छ भने गुमेको थियो कसरी
सडकको किनारामा बस्दा
कसैले सोधे
फर्काउने जवाफ त चाहियो नि !

(छुटेको जुत्ता, पृष्ठ ६८)

पुस्तकको आवरणमा प्रकाशित कविको तस्विरमा छालाका जुत्ता टल्किएका छन्, तर कविको मन बल्झिएको छ गोल्डस्टार जुत्तामा । हाम्रा जुत्ताहरू कति उछिट्टिए बमका छिर्का भएर, कति हराएका छन्, अरब, मलेशिया र कोरियातिर । कति जोर जुत्ताहरू त सदरमुकाम हिँड्दा हिँड्दै थाकेर भाडाको कोठामा भर्खरै फुकालिएका होलान्  । किन पुरा हुन सकेन मेरो देशको गोल्ड स्टार सपना ? कसले देखायो सपना ? कसले तुवायो सपना ?

कविताहरू अझै बहुआयामिक बन्दै जाउन् । यो परदेशमा यति सुन्दर उपहारको माध्यमबाट पुरानो समय र सुन्दर कविताहरूसँगको निकटताकालागि आमन्त्रण गर्ने कवि भोजराज न्यौपानेलाई धेरै धेरै धन्यवाद र बधाई । शुरुवातमा भने झैँ तपाइँका जुत्तापनि कतै छुटे भने   तपाईँलाई राम्रोसँग थाहा छ, तपाईँको जीवनयात्रा जुत्तामै निर्भर अबश्य छैन । यात्रा कतै नछुटोस् ।  जीवनको पनि, कविताको पनि ।

 

 

छुटेको जुत्ता

(कविता सङ्ग्रह)
प्रकाशक : शब्दहार क्रियशन्स
बितरक : प्राइम बुक्स प्रा. लि.
मूल्य रु : १५०


पाठकको प्रतिक्रिया
Books on Market

मिझोर

रचनाकार : प्रसन्न घिमिरे

प्रकाशक : सांग्रिला बुक्स

वितरक : सांग्रिला बुक्स

पूरा पदनुस

नथिया

रचनाकार : सरस्वती प्रतीक्षा 

प्रकाशक : बुक हिल पब्लिकेस ...

वितरक : बुक हिल पब्लिकेसन

पूरा पदनुस